रामपुर अग्रेजी आवासियको ३२ औं वार्षिकोत्सव

पाल्पा । लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले समयमै प्रदेशको शिक्षा ऐन ल्याउन नसक्दा समस्या बढ्दै गएको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा रहेको रामपुर अग्रेजी आवासिय माध्यामिक विद्यालयको ३२ औं वार्षिकोत्सवमा प्रदेशसभा सदस्य श्रेष्ठले देशको राजनीतिक अस्थिरताको कारण प्रदेशको शिक्षा ऐन नबन्दा समस्या भएको बताउनुभएको हो । उहाँले स्थापनाको समयमा केहि सीमित व्यक्तिले शेयर मार्फत घर भाडामा लिएर सुरुवात गरेको विद्यालय अहिलेको संचालनको अवस्थाले खुसी बनाएको बताउनुभयो । कालीगण्डकी वेशीका पाल्पा, स्याङ्जा र नवलपरासी क्षेत्रका नागरिकले रामपुरमा आएर कुन विद्यालयमा छोराछोरी पढाउने भनेर प्रश्न गर्दा रामपुर अग्रेजी आवासिय विद्यालय भन्ने वातावरण विद्यालयको परीक्षामा आउने नतिजा नै देखाएको प्रदेशसभा सदस्य श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सूर्यप्रसाद घिमिरेले विभिन्न घरका साँगुरा कोेठा, टहरा हुदै सीमित व्यक्तिको सहयोगमा चलाइएको विद्यालयले अहिले जिल्लामै राम्रो विद्यालयको छवि बनाउन सफल भएको बताउनुभयो । उहाँले अहिले विद्यालयमा सुविधा सम्पन्न भवन, यातायात, खानेपानी, कम्युटर तथा विज्ञान प्रयोगशालालगायतको सुविधा हुन सफल भएको जानकारी सहित विगत देिख अहिलेको अवस्थाबारे जानकारी गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्रनारायण श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममा रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत विकल काफ्ले, रामपुर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेल, विद्यालय व्यवस्थापन समिती पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मीलगायतले विद्यालयको शैक्षिक अवस्थाको विषयमा समीक्षा सहित शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थापक स्वर्गीय धुव्रराज पाण्डेयलाई मरणोप्रान्त अभिनन्दन, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मी र विद्यालय व्यवस्थापन समिति सदस्य रुद्रनारायण श्रेष्ठलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरी अभिनन्दन गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा १५ वर्ष भन्दा धेरै सेवा दिने ११ जना शिक्षक कर्मचारीलाई सम्मान पत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा २०७६, २०७७, २०७८ तथा २०७९ सालमा एसईईमा उत्कृष्ट अंक ल्याउने १९ जना विद्यार्थीलाई नगद १० हजार, खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा विद्यार्थीले रमाइलो सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर