
पाल्पा । गाउँपालिका भित्रका विद्यालयहरुमा सिकाइ उपलब्धि न्यून रहेको र कक्षा छाड्ने दर उच्च रहेको माथागढीमा अंग्रेजी भाषा सुधारका लागि सञ्चालित ‘सक्षम’ कार्यक्रम अन्तरगत नीतिगत छलफल गरिएको छ ।
गाउँपालिकाभित्रका विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्दै शिक्षण सिकाइ प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको सहयोगमा नीतिगत छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य खेमबहादुर सारुले गाउँपालिका भित्र रहेको ग्रामीण भेगमा गुणस्तरीय शिक्षा नपाएकै कारण छोरा छोरी पढाउने नाममा वार्षिक रुपमा बसाइँसराई गर्नेको संख्या बढेको अवस्थामा लागु भएको कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्नुका साथै बसाइँसराई रोक्न सहयोग गर्ने बताउनुभयो । उहाँले यो अभियानबाट गाउँपालिकाभित्रको शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रम गाउँपालिका भित्र सञ्चालनमा रहेका ४० सामुदायिक र ४ संस्थागत विद्यालयमा कार्यान्वयन भएको गाउँपालिकाका शिक्षा संयोजक प्रेम बहादुर बाह्रघरेले बताउनुभयो । गाउँपालिकाले समग्र शिक्षाको तथ्याँक संकलन गरी, अध्ययन अवलोकन तथा सरोकारवाला निकायसँग छलफल गरी ३ वर्षभित्र शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउने गरी सक्षम कार्यक्रम सञ्चालनमा ल्याइएको र कार्यक्रमबाट शैक्षिक सुधारका विभिन्न गतिविधि गरिएको शिक्षा संयोजक बाह्रघरेले बताउनुभयो ।
सामुदायिक विद्यालयहरुलाई शिक्षा र व्यवस्थापनमा राम्रो बनाउने, विश्वव्यापी रुपमा बढ्दो अंग्रेजी भाषालाई विशेष प्राथमिकता दिने, सोही अनुसार विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विषयगत शिक्षकहरुलाई विद्यालय व्यवस्थापन, पठन पाठनको पाठ्यक्रमको लागि ब्रिटिश काउन्सिलले सहयोग गरेको काउन्सिलका लुम्बिनी प्रदेश संयोजक अशेष भट्टराईले बताउनुभयो ।
विद्यार्थीहरु उच्च शिक्षा अध्ययनमा वञ्चित भएको, लोकसेवा आयोगमा अवसर नपाएको, विश्वव्यापी बजारमा विक्ने अवस्था नरहेको कारण गाउँपालिकाले विद्यालय शिक्षा सुधारको लागि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सक्षम कार्यक्रम लागु गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । यस कार्यक्रमले माथागढीको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था खस्कदै गएकोले विद्यालयमा पूर्वाधार भएपनि विद्यार्थीसंख्या कम रहने गरेको बताउँदै स्थानीयस्तरमै विश्व बजारमा विक्ने, प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरको जनशक्ति तयारका लागि गाउँपालिकाले विशेष जोड दिएर कार्यक्रम गरिरहेको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।
सक्षम कार्यक्रम माथागढीका संयोजक लोकेन्द्र थापाले सामुदायिक र संस्थागत विद्यालयहरूको शिक्षामा एउटै गुणस्तर कायम राख्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताउनुभयो । गाउँपालिकाका सामाजिक विकास शाखा संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीले गाउँपालिकामा नयाँ नेतृत्व आएपछि शिक्षाको अवस्था बारे बुझ्दा कमजोर देखिएकोले सबै विद्यालयको अध्ययन अवलोकन गरी, शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कार्यक्रमबाट भएका शैक्षिक सुधारका क्रियाकलाप प्रभावकारी बन्दै गएको जानकारी दिनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले भौतिक पूर्वाधार विकासले मात्र मानव विकास नहुने भएकोले गाउँपालिकाले शिक्षा विकासमा पहिलो प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा व्रिटिस काउन्सिलका भुपेन्द्र लामिछानेले सहजीकरण गर्नुभएको थियो । विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, पत्रकार, शिक्षाविदलगायत सरोकारवालाहरुको छलफलमा सहभागि रहेको थियो ।