सय दिन सिद्धार्थ राजमार्ग बन्द

पाल्पा । पौष १६ गते अर्थात सोमबारदेखि एक सय दिन सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड बन्द हुने भएको छ ।

सडक राती १० बजेदेखि विहान ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुने छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण कार्य लागि सहज र छिटो गर्नका लागि आयोजना कार्यालयको अनुरोधमा राजमार्ग बन्द गरेर काम अगाडि बढाउन लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।

सिद्धबाबा सुरुङ मार्गको निर्माण गर्ने कार्य सुचारु रहेको छ । निर्माणको क्रममा बाटो साँघुरो भएको कारण निर्वाध रुपमा यातायात सञ्चालनकै अवस्थामा कार्य गर्दा असहज हुनुको साथै माथिबाट ढुङ्गाहरु खस्ने, सवारी आवागमनमा उच्च जोखिम हुने भएकोले राजमार्ग बन्द गरेर काम गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।

बन्दको समयमा अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शववाहन र विपद्का साधन) बाहेकका अन्य सम्पूर्ण सवारी साधनको आवागमनलाई पूर्ण रुपमा बन्द हुने आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । बन्दको बिचमा पर्ने माघे संक्रान्ति पर्वको लागि २०८० पौष २९ र माघ १ गतेका लागि सवारी साधनको आवागमन खुल्ला गरिने सूचनामा उल्लेख छ ।

बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरुले बेलवास–नुवाकोट–दोभान सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी काफ्लेले आग्रह गर्नुभएको छ । राजमार्ग बन्द हुँदा सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा मालबहाक सवारीसाधन प्रभावित हुने भएकाछन् । अहिले पनि दिउँसोमा काम गर्दा यातायातका साधनलाई सहज रुपमा आवत जावतमा समस्या छ । बिना सूचना सडक बन्द गरेर निर्माण कार्य गर्दा यात्रुहरुले सास्ती खेप्नु परेकाे छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १ सय २६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । सिद्धबावा सुरुङ मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ । डिजाइन स्वीकृतिमा भएको ढिलाइ र सुरुङ मार्गमा गएको पहिरोका कारण यसको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख जैसवालले बताउनुभयो । निर्माण पक्षले हालसम्म त्यस स्थानमा आवश्यक अन्य पूर्वाधार डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायत काम गरिसकेको छ । सुरुङ मार्गको काम २०७९ असोज महिनादेखि नै सुरु गर्ने भनिए पनि डिजाइनको स्वीकृत नहुँदा २०७९ चैतदेखि निर्माणको काम सुरु भएको थियो ।

सम्बन्धित खवर