
पाल्पा । जिल्लाका दश स्थानीय तहमा रहेका ज्येष्ठ नगारिकहरुको घरमै पुगेर उपचार गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सरकारको योजना, स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र स्थानीय सरकारको नेतृत्वमा घरदैलोमा उपचार सेवा लैजान थालिएको हो ।
लुम्बिनी प्रदेशको ज्येष्ठ तथा अति अशक्त नागरिकसंग स्वास्थ्यकर्मी कार्यmक्रम सञ्चालन कार्यविधि २०८० मा व्यवस्था भए अनुसार ८० बर्ष माथिका ज्येष्ठ र अति अशक्त नागरिकको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनका लागि दश स्थानीय तहमा खर्च गर्नेगरी प्रदेश सरकारबाट १८ लाख बजेट आएको छ । अन्य आवश्यक खर्च स्थानीय सरकारको लागत साझेदारीमा कार्यक्रम हुने छ । अहिले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिकामा गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिक ३ हजार ८ सय ९ रहेका को स्वास्थ्य कार्याल पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अति अशक्त अन्तरगत अपांगता भएका व्यक्ति जसले क र ख वर्गको कार्ड प्राप्त गरेका छन उनीहरुमा क वर्गका अपांगता भएका व्यक्ति ५ सय ८९ र ख वर्गका अपांगता भएका व्यक्ति १ हजार ५ सय ११ गरी कुल ५ हजार ८ सय ५६ जनाले घरमै स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।
सरोकारवालाहरु संगको संयुक्त बैठकले दश स्थानीय तहका ८१ वडाहरुमा पौष महिनाको चौथो हप्तादेखि माघको दोस्रो हप्तासम्म ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त नागरिकहरुले घरमै उपचार पाउने गरी कार्यक्रमको तयारी गर्ने सहमती अनुसार काम अगाडि बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाथ्यकर्मीहरु संग बैठक बस्ने, वडा वडा टोलमा उपचारको लागि खट्ने मिती र स्वास्थयकर्मीको विवरण तयार गर्ने, सो विवरण स्वास्थ्य कार्यालयमा जानकारी गराउने र कार्यक्रम सञ्चालन गर्ने निर्यण भए बमोजिक तयारीको काम तीव्र रुपमा गरिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो ।
गत वर्ष पालिकाहरुले आआफ्नो हिसावले प्रदेश सरकारको बजेटमा आफ्नो बजेट समेत मिसाएर ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अति अशक्तहरुलाई घर घरमै सेवा उपलब्ध गराएका थिए । यस वर्ष लुम्विनी प्रदेश सरकारले सेवामा एकरुपता ल्याउन र उपचार सेवा लाई अझै विशिष्टिकरण गर्न अभियान संचालन गर्न लागेको जनाएको छ ।
पाल्पामा गत वर्ष ७० बर्ष भन्दा माथिका ६ हजार ५ सय ९६ जना ज्येष्ठ नागरिकहरुको घर घरमै पगेर स्थानीय सरकारले स्वाथ्य उपचार दिँदा स्थानीयवासी खुसी भएका थिए । उनीहरुले घरमै सेवा प्राप्त गर्दा जनप्रतिनिधिहरुको प्रशंसा समेत गरेका थिए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले घरमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्दा रोक लुकाएर घरमै बस्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले कतिपय ज्येष्ठ र अति अशक्त नागरिकहरु परिवारबाट समेट पीडामा बस्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो अवस्थामा सरकार घरमै पुगेर सेवा दिनेकाम महत्वपूर्ण रहेको बताउनुभयो । यस अभियानमा सबैपक्ष इमान्दार भएर सेवा प्रवाह गर्नुपर्नेमा प्रमुख खनालले जोड दिनुभयो ।