शित भण्डार सञ्चालनको तयारीमा माथागढी

पाल्पा । माथागढी गाउँपालिकाले कृषकहरुको कृषि उपज भन्डारनका लागि शित भण्डार गृह अथार्त कोल्ड स्टोर सञ्चालनको तयारी गरेको जनाएको छ ।

जसका लागि कृृषि उपज भण्डारका लागि शित भण्डार गृह (कोलस्टोर) सञ्चालन सम्बन्धी कार्याविधि २०८० गाउँकार्यपालिकाको बैठकबाट स्वीकृत भएको छ । सोही कार्यविधिलाई टेकेर शित भण्डार गृह सञ्चालनका लागि इच्छुक कृषि समूह तथा सहकारीलाई जिम्मेवारी दिन सूचना प्रकाशनको तयारी भएको छ । निःशुल्क रूपमा सञ्चालनको जिम्मेवारी दिने गरी सूचना जारी हुने छ ।

२० टन क्षमताको शित भण्डारमा कृषि उपज राखे वापत कृषकले न्यूनतम शुल्क बुझाउनुपर्ने छ । शित भण्डारको विद्युत र अन्य व्यवस्थापनका लागि शुल्कलिनुपर्ने अवस्था रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले जानकारी दिनुभयो ।

शित भण्डार गृह सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेको बीउ, तरकारी तथा फलफूल लामो समयसम्म राख्न सकिने र खेर नजाने विश्वासका साथ गाउँपालिकाले कोल्ड स्टोर चलाउने तयारी गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले कृषकहरुले मेहनत गरेर उत्पादन गरेको कृषि उपज शित भण्डार नहुँदा कुहिने र खेर जाने अवस्थाका साथै मूल्य समेत नआउने भएकोले मूल्य सहित सबै समस्याको समाधानका लागि शित भण्डार गृह निर्माण गरी चलाउने प्रक्रियामा अगाडि बढेको जानकारी दिनुभयो । शित भण्डार सञ्चालनमा आएपछि उत्पादन भएको कृषि उपज संकलन गरेर राख्न सकिने र हिजका दिनमा जस्तो सस्तो मूल्यमा विक्री गर्नुपर्ने अवस्था नरहने उहाँको भनाइ छ । एकातर्फ एकै पटक सबै कृषकको उत्पादन बजारमा लैजाँदा सस्तो मूल्यमा विक्री गर्नुपर्ने, विक्री नभएर कुहिने, त्यसै फेक्नुपर्ने अवस्था आउँदा कृषकहरुमा निरासा छाएर कृषि पेसा नै छाड्ने अवस्था हुने भएकोले कृषकको उत्पादनको सुरक्षा र बजार व्यवस्थापनका लागि गाउँपालिकाले शित भण्डार निर्माण गरेर सञ्चालन गर्न लागेको अध्यक्ष चिदीले बताउनुभयो ।

माथागढी गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा संघीय सर्शतको योजनाको ११ लाख र गाउँपालिकाको ११ लाख लागत साझेदारीमा शित भण्डार गृह निर्माण गरेको हो । लागत साझेदारीमा निर्माण भएको शित भण्डार करिब १९ लाख ५२ हजार ४ सय ६५ रुपैयाँमा बनेको छ । गृह निर्माणका लागि २०७९ जेष्ठ ६ गते निर्माण व्यवसायीसँग सम्झौता भएर २०८० जेष्ठ १६ गते सम्पन्न भएको हो । निर्माण सम्पन्न भएपछि आवश्यक प्रक्रिया मिलाएर सञ्चालनको तयारी गरिएको कृषि शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र उत्पादन भएका आलु, अदुवा, खुर्सानीका साथै सयपत्री फूल जस्ता कृषि उपज शित भण्डार नहुँदा वा बर्खाको समयमा सडक अवरुद्ध भएमा विक्रीका लागि भोग्नु परेको समस्यालाई अन्त्य गर्न र उत्पादनलाई संकलन गरेर बेमौसममा बजारमा विक्रीका लागि लगेर धेरै मूल्यमा बेच्ने अवस्थाको ग्यारेण्टी गर्न शित भण्डार गृह सञ्चालन भएपछि सहज हुने गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।

माथागढी गाउँपालिकाको कुल जनसंख्या २४ हजार ५३ रहेको छ । जसमा करिब १६ हजार तीन सय ५६ अर्थात ६८ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । गाउँपालिकाको २ सय १५ दशमलव ४९ वर्ग किलोमिटर क्षेत्रफलमा ४७ दशमलव ८ वर्ग किलोमिटर अर्थात २२ प्रतिशत जमिनमा खेती हुँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रका लागि १ करोड २८ लाख ७४ हजार बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

सम्बन्धित खवर