पाल्पा । निस्दी गाउँपालिका ३ झिरुवासका आगोलागी पीडित श्यामबहादुर पल्लीको परिवारलाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले सहयोग प्रदान गर्नुभएको छ ।
उहाँले आफ्नो व्यक्तिगत तर्फबाट चिसोबाट बच्नका लागि सिरक, डसना औषधि सिटामोल र पौष्टिक आहार च्यावनप्रासलगायतका सामाग्री सहयोग गर्नुभएको हो । प्रदेशसभा सदस्य श्रेष्ठले आगोलागीबाट समस्यामा परेको परिवारलाई दुःखको बेला सहयोग गरेको बताउनुभयो ।
रामपुर अक्षयकोषका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य श्रेष्ठले अक्षयकोष समितिबाट नगद ७ हजार समेत पीडित पल्ली परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै अक्षयकोष समिति सदस्यहरु सुर्यप्रसाद श्रेष्ठले नगद ३ हजार, रुद्रपनारायण श्रेष्ठले १ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । गत पौष ७ गते आगोलागीबाट पल्लीको ९ महिनाको शिशुको ज्यान गएको थियो ।
घर तथा गोठमा आगोलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष नविन्द्र थापा सोतीले जानकारी दिनुभयो । निस्दी गाउँपालिकाले अहिले अस्थायी आवास निर्माणका लागि त्रिपाल, दैनिक उपभोग्य सामाग्री तथा जस्तापाता प्रदान गरेको र अब घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।