
पाल्पा । माथागढी गाउँपालिकाले प्रशासकीय भवनका लागि जग्गाको टुंगो लगाएको छ । संघीय संरचना अनुसार २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित गाउँपालिकाको नेतृत्वले टुंगाउन नसकेको जग्गा स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित यमबहादुर चिदीको नेतृत्वले टुंगाउन सफल भएको छ ।
गाउँपालिकाको वडा नं. ४ झडेवामा गाउँपालिकाको केन्द्र रहेको छ । गाउँपालिका केन्द्रमा भवन निर्माणका लागि जग्गाको समयमा टुंगो नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । गाउँपालिकाको पहिलो नेतृत्वले प्रशासकीय भवन किसान माध्यमिक विद्यालयको जग्गामा बनाउने गरी प्रक्रिया अगाडि बढाएको थियो । विद्यालयको सार्वजनिक जग्गामा माटो परीक्षण गरी डिपीआर तयार गरेर टेण्डर आह्वान गरेको गाउँपालिकाले काम अगाडि बढाउन सकेन । नेपाल सरकारको पछिल्लो निर्णय अनुसार स्थानीय पूर्वाधार विभाग हरिहर भवन ललितपुरसंगको लागत साझेदारीमा योजना सञ्चालन गर्दा संस्थागत लालपूर्जा अनिर्वायको नियम लागु भएपछि प्रशासकीय भवन निर्माणको काम टेण्डर भए पनि अगाडि बढाउन समस्या भएको थियो ।
गाउँपालिकाको नाममा विद्यालयको जग्गाको लालपूर्जा बनाउनका लागि आवश्यक प्रक्रिया मिलाएर मन्त्रीपरिषद्बाट टुंगाउने प्रयास गरेको भएपनि हाल कानुनी रूपमा सम्भव नभएकोले भवन निर्माणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो । उहाँले आफू गाउँपालिकामा आएपछि पनि पहिलाको फाईल अगाडि बढाउन मन्त्रालयमा ताकेता गरेको तर टुंगो लगाउन नसक्ने अवस्था देखिएपछि विकल्पका रूपमा नयाँ जग्गा प्राप्तीको प्रक्रियामा गएको उहाँले बताउनुभयो ।
प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गादाताको खोजी गर्दा स्थानीय विष्णुकुमारी जिसीबाट ४ रोपनी, स्यामबहादुर जिसीबाट ३ रोपनी र मीनाकुमारी जिसीबाट १ रोपनी ८ आना १ पैसा जग्गा प्राप्त भएको छ । अहिले जग्गा प्राप्तीको सम्पूर्ण प्रक्रिया पूरा भएर भवन निर्माण प्रक्रियालाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष चिदीले जानकारी दिनुभयो ।
नयाँ प्रक्रियाअनुसार भवनका लागि प्राप्त भएको जग्गाको माटो परीक्षणको काम भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार माटो परीक्षणको प्रतिवेदन अनुसार डिपीआरमा सामान्य संशोधन गरेर लागत साझेदारीका लागि स्थानीय पूर्वाधार विभागसँग सम्झौता गरेपछि टेण्डरको सूचना प्रकाशन गरिने बताउनुभयो । भवन निर्माण कार्य ६० प्रतिशत स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत गाउँपालिकाको लागत साझेदारीमा हुने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि पहिलेको निर्माण व्यवसायीबाट काममा विलम्ब भएको भन्दै काम गर्न नसक्ने पत्र प्राप्त भएको र गाउँ कार्यपालिकाले पनि ठेक्का रद्द गरेकोले भवन निर्माणको काम चालु आर्थिक वर्षमा नयाँ टेण्डरमार्फत् गरिने गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । उहाँले यस वर्ष भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
प्रशासकीय भवन नहुँदा अहिले विषयगत शाखाहरु विभाजन भएर काम गर्नुपर्ने अवस्था रहेको छ । जसले गर्दा सेवा प्रदायक र सेवाग्राहीहरुलाई कार्यसम्पादनमा समस्या छ । अन्य स्थानमा कार्यालयहरु व्यवस्थापन गर्दा खर्च समेत बढेको छ । एकै प्रकृतिका सेवाहहरु फरकफरक स्थानबाट दिनुपर्दा सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । भवन निर्माण कार्य सकिएपछि एकीकृत सेवा प्रवाह हुने भएकोले पहिलो प्राथमिकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष चिदीको भनाइ छ ।