प्रतिनिधिसभामा पाल्पाली सांसदको एक वर्ष

पाल्पा । गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भएर सपथ लिएको एक वर्ष पूरा भएको छ । वर्ष पूरा गरेको अवसरमा पाल्पाली सांसदहरुले आफ्नो एक वर्षमा सम्पादन गरेको कार्य प्रगति प्रयास र अनुभव सार्वजनिक गर्नुभएको छ । पाल्पा निर्वाचन क्षेत्र नं. २ का सांसद ठाकुरप्रसाद गैरेको सचिवालयले तानसेनमा औपचारीक कार्यक्रम गरेर प्रगति सार्वजनिक गरेको हो । निर्वाचन क्षेत्र नं. १ का सांसद नारायणप्रसाद आचार्यको सचिवालयले सामाजिक सञ्चालनमार्फत् भैगरेका काम सार्वजनिक गर्नुभएको हो । औपचारिक कार्यक्रम पछि गर्ने सांसद आचार्यको सचिवालयले जनाएको छ । गएको प्रतिनिधिसभा सदस्यमा पाल्पाको दुबै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उमेद्वार विजयी भएका थिए । उहाँहरुले एक वर्षमा सवाल उठान संगै अनुभव प्राप्त गरेको बताउनुभएको छ ।

तानसेनमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य समेत रहनुभएका सांसद गैरेले पाल्पाको विकासका लागि आफूले सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो । सडकमा हुँदा जनताको मन जित्न सफल सांसद गैरे संसदमा पुगेर आफूलेचाहे अनुसारको काम गर्न नसके पनि खबरदारी भने निरन्तर गरिहरेको बताउनुभयो । उहाँले राष्ट्रियता, जनजीविकाका र पाल्पाली जनताको आवश्यकताका सवाल करिब साढे तीन घण्टा संसदमा उठान गरेको बताउनुभयो ।

सांसद गैरेले एक वर्षको अवधिमा धेरै काम गर्न सक्ने भए पनि हुन नसकेको बताउँदै सरकारले ऐन तथा कानुन टेवलमा ढिलाई गरेको समेत बताउनुभयो । एक वर्षको अवधिमा शून्य समय वाहेक सांसद गैरेले ३० पटक पाल्पाली जनताका समस्या बारे आवाज उठाएर सरकारको ध्यान आकर्षण गरेको बताउनुभयो । उहाँले पत्रकारहरु बिच उपलब्धिका दृष्टिले संसद्को उपलब्धी कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र आगामी दिनमा प्रभावकारी रूपमा परिणाममुखी काम गर्न सहज हुने विश्वस व्यक्त गर्नुभयो ।

गएको एक वर्षमा मिटर ब्याज सम्बन्धित कानुन मात्र पारित गर्न सकिएको सांसद गैरेले बताउनुभयो । उहाँले केही विधेयक टेबुल भएपनि पास हुन नसकेको बताउनुभयो । सांसद गैरेले आफूले संसदमा स्वास्थ्य बीमा, सडक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा वन्यजन्तु आतंकको न्यूनीकरणसहित, सालको काठ कटान, भगवती जात्रालाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने जस्ता विषयमा कुरा उठाएको जानकारी दिनुभयो ।

अर्का सांसद आर्चायले करुवासंगको कुराकानीमा एक वर्षमा कानुन निर्माणमा मात्र सीमित नभई जनताका विविध सरोकारका विषयमा खटेको बताउनुभयो । उहाँले संसद बैठकमा नियमित जस्तै उपस्थित रहेर काम गरेको बताउनुभयो ।

राज्यको ढुकुटी र स्रोत साधनमा न्यायपूर्ण वितरण नभएका कारण निर्वाचन क्षेत्रमा आवश्यकता अनुसार योजना र बजेट व्यवस्थापनमा समस्या भएको सांसद आचार्यले बताउनुभयो । सांसद आचार्यले आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँच र प्रभावमा बजेट विनियोजन हुँदा विकासमा समस्या देखिएको समेत बताउनुभयो । उहाँले पाल्पाको प्रमुख प्राथमिकताका क्षेत्र कृषि, स्वास्थ्य, खानेपानी, शिक्षा, सडकसहितका पूर्वाधार निर्माणका रहेको बताउनुभयो । सडकको पहुँचलाई पालिका, वडा, टोल, विद्यालय र स्वास्थ्य केन्द्रसम्म पु¥याउने अभियान जारी रहेको सांसद आचार्यको भनाइ छ ।

जस्तोसुकै परिस्थितिमा पनि समग्र विकासमा आफूहरु निरन्तर लाग्ने प्रतिबद्धता सांसद आचार्यले गर्नुभएको छ । संसदमा थोरै समय बोल्नुभएका सांसद आचार्यले विकासका सवालमा सम्बन्धित निकायहरुसंग नियमित समन्वय र पहल गरेको बताउनुभयो । पहिले देखि नै विकासप्रेमी नेताका रूपमा पहिचान बनाउन सफल सांसद आचर्यले आफ्नो निर्वाचन क्षेत्रको सडक पूर्वाधार, कृषि, पर्यटन विकास, शिक्षा, विद्युत र खानेपानीका क्षेत्रमा योजना तर्जुमा र कार्यान्वयका सवालमा नियमित समन्वय र खबरदारी गर्दै आएको बताउनुभयो ।

जिल्लाका दुबै सांसदले पहिलो वर्ष अनुभव र कामको प्रयास भएको बताउँदै संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसरका लागि पाल्पाली जनताप्रति आभार समेत प्रकट गर्नुभएको छ ।

सम्बन्धित खवर