पाल्पा । नेपाल परिवार नियोज संघ पाल्पाले सञ्चारकर्मी तथा सरोकारवालासंग बृहत यौनिकता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा सन् २०२३ मा संघले सम्पादन गरेका क्रियाकलाप र उपलब्धिसंगै ग्लोबल युथ कनेक्ट युथ इनोभेटिभ कोषमार्फत वृहत यौनिकता शिक्षाका विषयमा गरिएको गतिविधि बारे शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले प्रस्तुति राख्नुभएको थियो । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा क्रियाशील संघले यौन तथा प्रजनन् स्वास्थ्य सेवाको प्रत्यभूती गराउन , लैगिंकताको आधारमा गरिने हिंसा नियन्त्रण गर्न र परिवार योजना सेवाको पहुँच बढाउन सफल बन्दै आएको समेत प्रबन्धक न्यौपानेले बताउनुभयो ।
यसका साथै स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ को व्यवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले निर्देशिकाले लक्षित वर्गलाई विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा सहज रुपमा सेवा लिने र दिने ग्यारेण्टी गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनालले यौनिकता र योैन तथा प्रजनन् स्वास्थ्यका विषयमा अझै पनि लक्षित वर्गको चेतना बढाउन नसकिएको बताउनुभयो । उहाँले विषयगत रुपमा सचेत बनाउन सके महिला तथा बालबालिकाको स्वास्थ्यमा देखिने समस्याहरु अन्त्य हुने समेत बताउनुभयो । पछिल्लो समय स्थानीय सरकारहरु आम नागरिकको स्वास्थ्यका विषयमा समेत जिम्मेवार भएको बताउँदै विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्न सके राम्रो हुने प्रमुख खनालको भनाइ थियो । यसका साथै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरेर नियमित स्वास्थ्य शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले युवाहरुलाई सचेत बनाउन सकियो भने अभियान सफल बन्ने बताउनुभयो । उहाँले यौनिकता शिक्षाले किशोरकिशोरीहरु आफू बलियो बन्ने, आफ्नो समस्या खुलेर राख्न सक्ने भएकोले समयमै समस्याको उपचार लिनसक्ने बताउनुभयो । यसका साथै वडाध्यक्ष महर्जनले यौनिकता शिक्षा संगै कानुनी विषयमा समेत सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्याल पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले यौनिकतालाई मानव जीवन, लैंगिकता र विविधताको अधारभूत पक्ष मानेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले अन्य लक्षित वर्गका साथै अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर पैरवी गर्नुपर्ने बताउनुभयो । जिल्लामा बालविवाहको दर वार्षिक रुपमा वृद्धि भएको बताउँदै यसको न्यूनीकरणका लागि व्यवहारिक, कानुनी र मानसिक परामर्श सेवा उपलब्ध गराउनुपर्नेमा प्रमुख गिरीले जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले यौनिकता शिक्षाले मुख्यतया व्यक्तिगत स्वास्थ्य र स्वच्छताबारे सूचना दिने भएकोले परिवार यो विषयमा सचेत हुनु पर्ने बताउनुभयो । किशोर–किशोरीहरूलाई जागरुकता प्रदान गर्दै यौनजन्य रोगहरूबारे ज्ञान प्रदान गरेर संक्रमण घटाउने , बालविवाहलाई निरुत्साहन गर्न, अनावश्यक गर्भधारण र असुरक्षित यौन सम्बन्धबारे समयमै ज्ञान दिन संघले देखाएको सक्रियताको अध्यक्ष रानाले प्रशंसा गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रम संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षता तथा स्वास्थ्य विज्ञ कमल बस्यालको सञ्चालनमा भएको हो ।