माथागढीको पर्यटकीय गन्तव्य बन्दै कौडेलेक

पाल्पा । माथागढी गाउँपालिकाको कौडेलेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । थप यसको विकासका लागि गाउँपालिकाले विभिन्न योजना अघि सारेको जनाएको छ । गाउँपालिकाको ३ नं. वडाको ओलेस गाउँको शिरमा कौडेलेक पर्छ ।

माथागढी ३ को खहरे बजारबाट करिव आधा घण्टा सवारीसाधनको यात्रा पछि ओलेस गाउँ पुगिन्छ । ओलेसबाट करिब एक घण्टा पैदलमार्ग हुँदै पुगिने कौडेलेक समुन्द्री सहतदेखि करिब एक हजार ९ सय ५० मिटरको उचाइमा अवस्थित छ ।

पाल्पाकै उच्च स्थानमा रहेको कौडेलेकलाई गाउँपालिकाले पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने थालेको हो । अघिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित दश लाख रुपैयाँ बजेटबाट सहज रुपमा लेकमा पुग्नेगरी पदमार्ग तथा विश्राम स्थल व्यवस्थापन गरिएको छ । यस वर्ष अन्य आवश्यक कार्य गर्ने योजना रहेको ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो । पछिल्लो समय पदमार्ग निर्माण भएपछि पर्यटकहरुको लेकमा उपस्थिति बाक्ले हुन थालेको छ । गाउँपालिकाले ओलेस गाउँबाट करिब ५ सय मिटर बढी पदमार्ग निर्माण गरेको छ । पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज भएको वडाध्यक्ष घर्तीमगरको भनाइ छ ।

जिल्लाकै अग्लो पहाडमा पर्ने कौडेलेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । “कौडेलेक ऐतिहासिक ठाउँ हो, यो जिल्लाकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागि रहेका छौँ, अहिलेसम्म पदमार्ग, चौपारीलगायतका संरचना बनाएका छौँ, अझै पूर्वाधार बनाउनुपर्ने छ, हरेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि बढेको पाइएको छ ।” अध्यक्ष चिदीले भन्नुभयो ।

पर्यटक भित्राउन प्रचार–प्रसारसँगै ओलेसमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयसँग सहकार्य भइरहेको माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । दर्लामीले होमस्टे सञ्चालन गर्न स्थानीय समेत उत्साहित भएको भन्दै होमस्टे सञ्चालन गर्ने तालिम र अवलोकन भ्रमण लैजाने तयारी भएको बताउभयो । माथागढी ३ ओलेस टोल संयोजक खुम बहादुर सुर्यवंशीले पहिले कौडेलेक स्थानीयको घाँस–दाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने गरेको र गाउँपालिकाले होमस्टे संगै अन्य पूर्वाधारको विकास गर्न लागेकोमा स्थानीय खुसी भएको बताउनुभयो । स्थानीय सुर्यवंशीले गाउँपालिकाले कौडेलेकमा पानी र विजुली लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको बताउनुभयो ।

भूपु सैनिक तथा प्रहरी कल्याणकारी संस्था माथागढीका अध्यक्ष दुर्वल सिंह आलेले कौडेलेकको पर्यटन प्रवद्र्धनका लागि संस्थाले भ्यू टावर बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संस्थाले यही क्षेत्रमा जन्मेका पूर्व सैनिक तथा प्रहरीहरुले सामाजिक उत्तरदायित्व वहन स्वरुप सानो प्रयास गरेको र आगामी दिनमा थप सहयोग गर्दै जाने अध्यक्ष आलेले बताउनुभयो ।

यहाँ एकपटक घुम्न आएका पर्यटकहरु पुनः अर्कोपटक आउने गरेका छन । स्थानीयका अनुसार “ओलेस हुँदै कौडेलेक पुग्ने हुँदा पर्यटकको आवतजावतले यहाँको आयआर्जन बढेको छ । विदाको समयमा पर्यटक बढी आउने गरेका छन् । कौडेलेकबाट पूर्वदेखि पश्चिमसम्मका हिमश्रृखलासँगै तराईका अधिकांश भू–भाग र भारतका केहि बजारहरु देख्न सकिन्छ ।

ओलेस मगर बस्ती भएकाले उनीहरूको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षण गर्दै पर्यटकलाई मौलिक कला संस्कृति, भेषभूषा र परम्परालाई देखाउने तयारीमा गाउँपालिका लागेको अध्यक्ष चिदीले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण कौडेलेक पर्यटकीय प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय