पूर्वखोलाको ढोलीमारामा चौतारीको घुम्ती बैठक

पाल्पा । श्रमजीवी पत्रकारहरूको सबैभन्दा अग्रणी संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक पूर्वखोला गाउँपालिका २ जल्पाको ढोलीमारामा बसेको छ ।

मंसिर २९ र ३० गते बसेको बैठकमा संगठनको विभिन्न विषयमा छलफल, बन्द प्रशिक्षणसहित श्रमजीवी पत्रकारहरूको हकहित, जल्पा ढोलीमाराको पर्यटन प्रवद्र्धनका समसामहिक विषयबस्तु समेटिएको ६ बूँदे ढोलीमारा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

बैठकमा नेकपा एमालेका नेता तथा पाल्पा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले प्रेस चौतारी पाल्पाले पूर्वखोलाको कृषि, पर्यटन क्षेत्रमा भएका उपलब्धिहरुको प्रचार प्रसारमा सहयोग गर्ने गरी आयोजना गरेको बैठकको प्रंशसा गर्नुभयो । उहाँले सम्भावना र नागरिकको लगनशीलताले ढोलीमारामा होमस्टे सञ्चालनमा आएको बताउनुभयो । संघीय सांसद आचार्यले कृषि कर्ममा युवा र महिलाहर एक जुट भएर काम गर्दा सफल भइने नमुना उदाहरण यहाँ देख्न सकिने बताउनुभयो । यस क्षेत्रको विकासका लागि २०६४ सालदेखि नै आफूहरु योजनावद्ध रुपमा आगाडि बढेको बताउदै सांसद आचार्यले स्थानीयवासीलाई थप क्रियाशील बनाउन भएका गतिविधि बढीभन्दा बढी प्रचार गरिदिन चौतारी सम्बद्ध पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य दलबहादुर गुरुङले बन्द प्रशिक्षणमा सहजीकरण गर्दै समाज रुपान्तरणका लागि निपक्ष पत्रकारिकता आवश्यक रहेको बताउनुभयो । उहाँले जबसम्म सही विषयको प्रशंसा र गलत विषयको खुलेर विरोध गर्न सकिदैन तव सम्म पत्रकारिताको धर्म निर्वाह नहुने बताउनुभयो । पछिल्लो समय पत्रकारितामा पनि अवसरवादी चरित्र देखिन थालेकोले यस विषयबाट चौतारीका पत्रकारहरु टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज कमलराज तिमिल्सिनाले पाल्पाको पत्रकारिताको विकासमा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जिल्लाका अन्य पत्रकारहरुको संगठनहरुलाई सिकाई हुनेगरी गतिविधि गर्दै आएकोले बैठकले गरेका निर्णयहरू कार्यान्वयनका सबै जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले स्थानीय क्षेत्र जल्पामा होमस्टे सञ्चालन भएदेखि स्थानीय नागरिकहरूमा स्वावलम्बनको भावना पलाएको बताउनुभयो । उहाँले स्थानीयस्तरमै उद्यमशीलता र स्वरोजगारको भावना जागृत गराउन भैरहेका उपलब्धिहरुको प्रचार हुन आवश्यक रहेको बताउनुभयो ।

प्रेस चोतारीका केन्द्रीय सदस्य तथा गुल्मी इन्चार्ज मिलन विश्वकर्माले पाल्पा चौतारी देशका अन्य चौतारीहरुलाई समेत सिकाई हुने खालका कामहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफू छोटो समयमा संगठनको केन्द्रदेखि जिल्ला सम्मको कार्य अनुभव लिन पाएको बताउँदै पेशागत र संगठनको क्रियाशीलताले स्थापित हुन सहज बनाउने बताउनुभयो ।
वडाध्यक्ष निरबहादुर सारुले ढोलीमारा चुलिडाँडाको संस्कृति तथा पर्यावरण विकासका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको बताउनुभयो । भैरहेको कामको प्रचार गरेर सहयोग गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जल्पा ढोलीमारा क्षेत्रको कृषि तथा पर्यटन विकासमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नागरिकलाई आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले विभिन्न योजना अघि सारेको समेत बताउनुभयो । चौतारीले कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्नकै लागि ढोलिमारा छनौट गरेर बैठक आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

प्रेस चौतारी पाल्पाका जिल्ला अध्यक्ष कृष्ण कार्कीले ढोलीमारामा सञ्चालित होमस्टे सहित यहाँका कृषकहरुले गरेको कबुलियती वनको अम्रिसो खेती, क्यूवी खेतीलगायत स्थानीय उत्पादन र पर्यटकीय स्थल चुलिडाँडाको प्रचारप्रसारमा सहयोग गर्नेगरी बैठकको आयोजना गरिएको बताउनुभयो ।

बैठकपछि जारी घोषणा पत्रमा पाल्पाका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरिएको छ । यस्तैगरी नेपाल पत्रकार महासंघले ‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण गर्नुका साथै समग्र पूर्वखोला गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासका लागि तीन तहकै सरकार मार्फत प्रयाप्त बजेटको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको सचिव न्यौपानेले बताउनुभयो । यसका साथै बैठकले वार्षिक साधारण सभा, नविकरण, सदस्यता प्रोत्सहान, विदेश भ्रमणलगायतका विषयमा निर्णय समेत गरेको उपाध्यक्ष बन्दना पोखरेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर