रिब्दीकोटमा डिजिटल भुक्तानी सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकाले समय अनुसार डिजिटल भूक्तानीको सुरुवात गरेको छ ।

गाउँपालिका कार्यालय सहित सम्पूर्ण वडा कार्यालयहरुबाट डिजिटल भुक्तानीको सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकले बुझाउने राजस्वलाई गाउँपालिकाको नगद रहित बनाउने उद्देश्यका साथ क्यूआर स्टाण्डको प्रयोगबाट डिजिटल भूक्तानीको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । सेवा सुरु गरेसंगै अव सेवाग्राहीहरुले एनआइसी एशिया बैकको फनपे क्यूआर प्रयोग गरी सहज रुपमा राजस्व बुझाउन सक्ने अध्यक्ष कार्कीको भनाइ छ ।

गाउँपालिका भित्रका ८ वटै वडा र गाउँकार्यपालिकाको कार्यलयमा समेत क्यूआर सेवाको थालनी भएको र आगामी दिनमा सेवाग्राहीले डिजिटल सेवा मार्फत घरमै बसेर विभिन्न सेवा लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । उहाँले नागरिकको सुविधाका लागि आफूहरुले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको बताउनुभयो ।
सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरेर सेवा सुरु गरिएको हो ।

गाउँपालिकालाई प्रविधिमैत्री बनाउन सेवाले सहयोग पुग्ने सूचना प्रविधि अधिकृत सुदिप पौडेलले जानकारी दिनुभयो । उहाँले वडा कार्यलयका लागि क्यूआर स्टाण्ड गाउँपालिका अध्यक्ष मार्फत वितरण समेत गरिएको बताउनुभयो ।

सम्बन्धित खवर