पाल्पा । मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन ९ तिन्टीआँपको कोरियन संस्था कोईकाको टोलीले अवलोकन गरेको छ ।
तरकारीको उत्पादन र बजारीकरण बारे अध्ययन गर्ने उद्देश्यले नेपाल आएको कोरियन संस्था कोईकाको टोलीले जिल्लाकै उदाहरणीय सहकारीको अध्ययन अवलोकन गरेको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिनुभयो । टोलीले किसान संग तरकारीको उत्पादकत्व वृद्धि गर्ने र त्यसलाई व्यवस्थित तरिकाले बजारीकरण गर्ने विषयमा अन्तरक्रिया समेत गरेको अध्यक्ष घिमिरेको भनाइ छ ।
यसै अवसरमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, कृषि सचिव लालबाबु कवारी, जिल्ला सहकारी संघका अध्यक्ष भूपती पाण्डेलगायतको टोलीले सहकारीको अवलोकन र कृषकसंग अन्तरक्रिया गरेको छ । गृहमन्त्री पाण्डेयले किसानलाई उत्पादनका आधारमा अनुदान र प्रविधिमा सहयोगको साथै सहुलियत कर्जाको व्यवस्था गर्ने गरी प्रदेश सरकारले कृषिमा प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो ।