
पाल्पा । पछिल्ला वर्षमा पाल्पा जिल्लामा महिला हिंसाका घटनाहरु बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांक अनुसार पछिल्ला आर्थिक वर्षमा जिल्लामा महिला हिंसाका घटना बढ्दै गएको देखिएको हो ।
सामाजिक परम्परा, विभेद, महिलालाई आर्थिक रुपमा बलियो बनाउन नसक्नु, निर्णय तहमा महिलाको पहुँच वृद्धि नहुनु, शिक्षा र चेतनामा भएको अन्तररले महिला हिंसाका घटनाहरु समाजमा बढ्ने गरेको जिल्ला प्रहरी कार्याल पाल्पाका प्रमुख हेरम्ब शर्माले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय पाल्पामा महिला हिंसाका उजुरीहरु उल्लेख्य मात्रामा दर्ता भएका छन । आर्थिक वर्ष २०७७/०७८ मा ५० वटा महिला हिंसाका उजुरी दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ८१, ०७९/०८० मा ९८ र चालु आर्थिक वर्षको हालसम्म ३४ वटा उजुरी दर्ता भएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रको दर्ता रेकर्ड अनुसार २०७७/०७८ मा घरेलु हिंसातर्फ ४९ वटा, आर्थिक वर्ष २०७८/०७९ मा ८१ वटा २०७९/०८० मा ९८ उजुरी परेका छन । यस्तै चालु आर्थिक वर्षको हालसम्म घरेलु हिंसातर्फ ३४ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जवरजस्ती करणीतर्फ ०७७/०७८ मा १७ वटा २०७८/७९ मा २४ वटा २०७९/०८० मा १५ र चालु आर्थिक वर्षको अहिलेसम्म ४ वटा उजुरी परेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । दर्ता भएका उजुरी मध्य अधिकांश श्रीमान श्रीमती बिचको विवादबाट उत्पन्न समस्याहरु रहेका छन ।
विगतका आर्थिक वर्षको तथ्यांकलाई हेर्दा घरेलु हिंसाका घटना जिल्लामा बढिरहेको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ देखि चाल आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय पाल्पामा २ सय ६३ उजुरी दर्ता भएका छन । जसमा हिंसा अन्तर्गत दर्ता भएका सबैजसो उजुरी मिलापत्र भइसकेका छन् भने केही बाँकी रहेका छन । घरपरिवारका उजुरीहरु सकेसम्म मिलापत्र गरेर पारिवारिक मिलनको प्रयास गरिने प्रहरीले जनाएको छ । सुरुकै चरणमा मुद्दा दर्ता गरेर अगाडि बढ्दा झन समस्या आउनसक्ने भएकोले दुईपक्षलाई बोलाएर मिलापत्रको प्रयास गर्दा धेरै उजुरीको समस्या समाधान गर्न सफल भएको प्रहरी प्रमुख शार्माको भनाइ छ ।
यसका साथै समाजमा हिंसाका घटनालाई न्यूनीकरण गर्न प्रहरी कार्यालयले आफ्नो मातहतबाट विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहको छ । जिल्लाका स्थानीय तह, सरकारी तथा सामाजिक संघसंस्थाको समन्वय र सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा समेत सक्रियताका साथ कार्यक्रम गरिएको प्रहरी प्रमुख शर्माले बताउनुभयो । प्रहरी एक्लै लागेर समाजमा रहेको हिंसा न्यूनीकरण गर्न नसकिने भएकोले यस विषयमा सबैपक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
हिंसा न्यूनीकरणका लागि सबैभन्दा पहिले हिंसा पीडितले प्रहरी वा अधिकारकर्मीलाई सहज रुपमा उजुरी दिनका लागि प्रोत्साहित गर्नुपर्ने प्रहरी प्रमुख शर्माको बताउनुभयो । यसका साथै शिक्षा, प्रजनन् स्वास्थ्यसंगै आर्थिक र सम्पत्तिको स्वामित्वमा वृद्धि गराउँदा महिलाको निर्णय क्षमता बढ्ने र आफूमाथी हुने हिंसाका विरुद्धमा खुलेर बोल्न सक्ने अवस्था सिर्जना हुने उहाँको विश्वास छ ।