पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगतका तीन खेल फुटवल, क्रिकेट र ब्याटमिन्टन प्रतियोगिता मध्य फुटवल प्रतियोगिता बुधबारदेखि सुरु भएको हो ।
नगर खेलकुद विकास समितिको आयोजना र जिल्ला फुटवल संघ पाल्पाको व्यवस्थापनमा फुटवल प्रतियोगिता भएको हो । तानसेन टुँडिखेल मैदानमा भएको प्रतियोगिता उद्घाटन सत्रमा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले खेलकुदले अनुशासन सिकाउने भएकोले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले पाल्पामा विगतमा दिनहरुमा धेरै राष्ट्रिय खेलहरु हुने गरेको भएपनि लामो समय प्रतियोगिता सञ्चालन नहुँदा खेल क्षेत्रमा युवाहरुको आकर्षण कमजोर भएको बताउनुभयो । तानसेनले ढिलो भएपनि अहिले गरेको प्रयासले सिङ्गो मुलुक र ऐतिहासिक, पर्यटकीय तानसेनलाई खेलकुद मार्फत जोडने प्रदेशसभा सदस्य रानाको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रतियोगितामा सहभागी समूहलाई उपाधि जित्नका लागि शुभकामना व्यक्त गर्नुभयो । तानसेनको खेलकुद पर्यटनलाई उजागर गर्न, नगर क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खेलाडीहरुलाई हौसला अभिवृद्धि गर्दै तानसेनलाई खेल पर्यटनको हवका रुपमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
तानसेनका १४ वडामध्य ९ वडाका १० समूह प्रतियोगितामा प्रतिस्पर्धाका लागि दर्ता भएको नगर खेलकुद विकास समितिका संयोजक तथा तानसेन ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो उद्घाटन खेल तानसेन वडा नं. १४ र ९ को समूहबीच भएको छ ।
तीन वर्ष लगातार विजेता समूहले रनिङ्ग शिल्ड सदाका लागि प्राप्त गर्ने फुटवल प्रतियोगितामा प्रथम हुने समूहले एक लाखसहित ट्रफि, प्रमाण पत्र तथा मेडल, दोस्रो हुने समूहले क्षरुपी पचास हजारसहित प्रमाण पत्र तथा मेडल प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तैगरी प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार , सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ गोल किपर, १ जना उत्कृष्ठ डिफेण्डर, १ जना उत्कृष्ठ फरवार्ड , १ जना उदयमान खेलाडी,१ जना उत्कृष्ठ खेलाडीलाई तीन /तीन हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराइने शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो । उहाँले रनिङ्ग शिल्ड अन्तरगत तीन प्रतियोगिता सञ्चालनका लागि १५ लाख बजेट रहेको समेत बताउनुभयो ।
रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत पौष ७ गतेदेखि क्रिकेट र पौष २७ गते देखि ब्याटमिन्टन प्रतियोगिता सञ्चालन हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।