माथागढीको स्वास्थ्य स्वयंसेविका दिवसमा विविध कार्यक्रम

पाल्पा । माथागढी गाउँपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा विविध कार्यक्रम गरेको छ ।

आफ्ना स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने नाराका साथ दिवसमा विविध कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका बारे सरोकारवाला संग बहस, छलफल, अनुभव आदान प्रदान, सफलता कथा प्रस्तुत गरेर दिवस मनाइएको बताउनु्भयो ।

यस्तै माथागढी २ को रुप्से स्वास्थ्य चौकीमा वडा नं २ रुप्से, ३ कसेनी र ४ झडेवाका महिला स्वास्थ्य स्वयंसेबिकाको उपस्थितिमा दिवस मनाइएको छ । सोही अवसरमा स्वयंसेबिकाहरुलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण समेत सम्पन्न गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले जानकारी दिनुभयो ।

वडा नं २ का वडाध्यक्ष बम बहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष बिष्णुमाया लुङ्चेको विशेष उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष चिदी र उपाध्यक्ष लुङ्चले गाउँपालिकामा स्वयंसेविकाहरु खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै निरन्तरताकाृ लागि शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर