रामपुर नगरपालिकाकाे स्तनपान कक्ष प्रभावकारी

पाल्पा । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बन्दै गएको छ । यहाँ महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।

स्तनपान कक्षको सुविधा भएपछि बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक कर्मचारी सिम्पल रानाले बताउनुभयो ।
कर्मचारी रानाले भन्नुभयो “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई कार्यालयमा साथमा नै ल्याउने गरेको छु, कार्यालयको काममा व्यस्त रहँदा स्तनपान कक्षमा बच्चालाई सुताउने, खेल्ने वातावरण मिलेको छ, बच्चाले खोजेको समयमा नै स्तनपान गराउन पाइएको छ”

खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले अरुले देख्ने गरी दुध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुने भएकाले स्तनपान कक्ष अति उपयोगी भएको महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियार बताउनुभयो ।

यहाँको स्तनपान कक्ष कार्यालयका महिला कर्मचारी, सेवाग्राही महिलाले राम्रो उपयोग गर्न पाउँदा सन्तुष्ट छन् । कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि नगरपालिकाको पहिलो तलामा महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा रहेको स्तनपान कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापा बताउनुभयो । यस आर्थिक वर्षको साउन पहिलो हप्ता देखि कार्यालयभित्रै सुबिधा सम्पन्न स्तनपान कक्ष तयार पारी नियमित रुपमा प्रयोगमा ल्याइएको छ । तीन वर्षअघि रामपुर नगरपालिकाले कार्यालय अगाडि सानो ट्याङ्कीमा स्तनपान कक्षको शुभारम्भ गरेको थियो ।

कार्यालयमा स्तनपान गराउने स्थान नभएका कारण बच्चालाई घरमै छाड्नुपर्ने अवस्था धेरै कार्यालयमा छ । काममा हुँदा पनि आमाको ध्यान बच्चातिरै हुन्छ । बच्चाले चाहेको समयमा दुध खान नपाउनु, स्तनपान कक्ष आमा र बच्चाको अधिकार भएपनि त्यसलाई कार्यालयले महत्व नदिँदा महिला कर्मचारीलाई समस्या छ । बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिकामध्ये एक स्तनपान हो । बालबालिकाको शारीरिक विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाट मात्र पाइने हुँदा समय समयमा स्तनपान गराउनु आवश्यक छ । स्तनपानले आमलाई गर्भ निरोधकको काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हुने, आमाको दुधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता समेत दिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय