
पाल्पा । तानसेन नगरपालिकाले आयोजना गर्न लागेको प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत फुटवल प्रतियोगिता भोलि मंसिर २० गतेदेखि हुँदै छ ।
तानसेन नगरपालिका खेलकुद विकास समितिको आयोजना र जिल्ला फुटवल संघ पाल्पाको व्यवस्थापनमा फुटवल प्रतियोगिता हुन लागेको हो ।
बुधबार दिउँसो १ बजेदेखि तानसेन टुँडिखेल मैदानमा फुटबल प्रतियोगिता सुरु हुने नगर खेलकुद विकास समितिका संयोजक तथा तानसेन ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । फुटवल प्रतियोगिताका लागि आवश्यक तयारी सकिएको छ । तानसेनका १४ वडामध्य ९ वडाका १० समूह प्रतियोगितामा प्रतिस्पर्धाका लागि दर्ता भएको संयोजक शाक्य बताउनुभयो । उद्घाटन खेल तानसेन वडा नं. १४ र ९ को समूहबीच हुने छ ।
तीन वर्ष लगातार विजेता समूहले रनिङ्ग शिल्ड सदाका लागि प्राप्त गर्ने फुटवल प्रतियोगितामा प्रथम हुने समूहले एक लाखसहित ट्रफि, प्रमाण पत्र तथा मेडल, दोस्रो हुने समूहले क्षरुपी पचास हजारसहित प्रमाण पत्र तथा मेडल प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तैगरी प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार ,सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ गोल किपरलाई तीन हजार, सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ डिफेण्डरलाई तीन हजार, सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ फरवार्डलाई तीन हजार, सम्पूर्ण खेलका नतिजा अनुसार १ जना उदयमान खेलाडीलाई तीन हजार र सम्पूर्ण खेलका नतिजा अनुसार १ जना उत्कृष्ठ खेलाडीलाई तीन हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराइने शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो । उहाँले रनिङ्ग शिल्ड अन्तरगतको फुटवल प्रतियोगिता सञ्चालनका लागि ५ लाख बजेट रहेको समेत बताउनुभयो ।