लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

पाल्पा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको समन्वय र सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माले लैङ्गिक हिंसा, हिंसाका प्रकार, हिंसा हुने कारण, प्रहरीसम्म पुग्ने प्रक्रिया, कानूनी व्यवस्था र पाल्पा जिल्लाको लैङ्गिक हिंसाको अवस्थालगायतका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । यस्तैगरी सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र प्रसाद गौतमले लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान सुरुवात र लुम्बिनी प्रदेशको अवस्थाका विषयमा प्रस्तुति राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लैङ्गिक हिंसाका घटना कम घटने जिल्ला मध्य पाल्पा पर्ने बताउनुभयो । उहाँले थोरै प्रतिशतमा रहेको हिंसाका घटनालाई न्यूनीकरण गर्न सचेतना र महिलाहरुलाई सामाजिक, आर्थिक रुपमा सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जिल्लामा हिसां न्यूनीकरणका लागि ठोस कार्यक्रम नहुँदा थप समस्या रहेको बताउनुभयो । हिंसाका मुद्दाहरु लेनदेनमा मिलापत्र गर्ने परिपाटीले घटनाहरु बढ्दो क्रममा रहेको बताउनुभयो । लेनदेन गर्दा पीडकको मनोवल बढ्दा हिंसाका घटनाहरु दोहोरिने गरेको बताउदै अध्यक्ष रानाले शिक्षा र कारबाहीलाई कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा र कारबाही दुवै विषयले नागरिकलाई सचेत बनाउने बताउनुभयो ।

नेपाल बार एसोशिएसन पाल्पाकी सचिव शान्ति बस्यालले पछिल्लो समय महिलामात्र नभै पुरुषहरु पनि हिंसा पीडित भएको बताउनुभयो । उहाँले ग्रामीणस्तरका वास्तविक हिंसा पीडित महिलाहरु अझै पनि खुल्ले र न्यायको पहुँचमा आउने अवस्था नरहेको सचेतनाका कार्यक्रम तल्लोतहसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले घरपरिवार, इज्यत र प्रतिष्ठाका साथै न्यायका लागि सहज पहुँच नहुँदा लैङ्गिक हिंसाका घटनाहरु लुक्ने गरेको बताए । उनीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला पक्ष निरन्तर एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्वता “ भन्ने नाराका साथ यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । प्रत्यक वर्ष अंग्रेजी महिनाको नोभेम्बर २५ देखि सुरु हुने यो अभियान डिसेम्बर १० गतेसम्म सञ्चालन हुने गर्दछ ।

अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति उपप्रमुख काशिका ज्ञवाली गैरेकाे अध्यक्षतामा चलेकाे हाे ।

सम्बन्धित खवर