तानसेनले मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता गर्दै

पाल्पा । तानसेन नगरपालिकाले नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

तानसेन नगरपालिका खेलकुद विकास समितिको आयोजना र जिल्ला फुटवल संघ पाल्पाको व्यवस्थापनमा रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको हो । रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत यस वर्ष फुटबल, क्रिकेट र ब्याटमिन्टन प्रतियोगिताको आयोजना हुने नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक शाक्यले मंसिर २० गते बुधबार देखि तानसेन टुँडिखेल मैदानमा फुटबल प्रतियोगिता सुरु हुने बताउनुभयो । फुटवल प्रतियोगिताका लागि ९ वडाका १० समूह दर्ता भएको संयोजक शाक्यको भनाइ छ । यसैगरी रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत पौष ७ गतेदेखि क्रिकेट र पौष २७ गते देखि ब्याटमिन्टन प्रतियोगिता सञ्चालन हुने छ ।

तीन वर्ष लगातार विजेता समूहले रनिङ्ग शिल्ड सदाका लागि प्राप्त गर्ने फुटवल प्रतियोगितामा प्रथम हुने समूहले एक लाखसहित ट्रफि, प्रमाण पत्र तथा मेडल, दोस्रो हुने समूहले क्षरुपी पचास हजारसहित प्रमाण पत्र तथा मेडल प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । यस्तैगरी प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार ,सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ गोल किपरलाई तीन हजार, सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ डिफेण्डरलाई तीन हजार, सम्पूर्ण खेलको नतिजा अनुसार १ जना उत्कृष्ठ फरवार्डलाई तीन हजार, सम्पूर्ण खेलका नतिजा अनुसार १ जना उदयमान खेलाडीलाई तीन हजार र सम्पूर्ण खेलका नतिजा अनुसार १ जना उत्कृष्ठ खेलाडीलाई तीन हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराइने छ ।

पत्रकार सम्मेलनमा तानसेनको खेलकुद पर्यटनलाई उजागर गर्न, नगर क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खेलाडीहरुलाई हौसला अभिवृद्धि गर्दै तानसेनलाई खेल पर्यटनको हवका रुपमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले शून्य अवस्थामा रहेको तानसेनको खेलकुदलाई गतिदिन प्रतियोगिता सफल हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको निर्धारण गरेर बजेट विनियोजना गरेर काम गर्दा राम्रो हुने सुझाव दिनुभयो । तानसेन जिल्लाको जेठो स्थानीय सरकार भएकोले अन्य स्थानीय सरकारसंगको समन्वयमा जिल्लाको खेलकुद विकासमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अध्यक्ष रानाले जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले तानसेन नगरपालिका भित्र हुने विभिन्न खेलकुद प्रतियोगितामा सहयोगका लागि विभेद गरेको गुनासो आएकोले यस विषयमा गम्भीर भएर सबै खेलकुदलाई सहयोग गर्नुपर्ने बताएका थिए । उनीहरुले नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खेलाडीहरुको पहिचना र उनीहरुले प्राप्त गरेको सफलतालाई सम्मान गर्नुपर्ने समेत बताए । पत्रकारहरुले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताउदै खेलाडीहरुको दुर्घटना बीमा गरेर पहिलो चरणमा खेलाडीको सम्मान गर्न आग्रह समेत गरेका थिए ।

सम्बन्धित खवर