कुटुम्बको दोस्रो साधारण सभा सम्पन्न

पाल्पा । कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफूलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले धेरै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्न नसकेको भन्दै कुटुम्बलाई सामाजिक उत्तरदायित्वका विषयमा गम्भीर बन्न आग्रह गर्नुभयो । आफ्ना सदस्यलाई सुखी र स्वास्थ्य बनाउन सहकारीले ध्यान दिनुपर्ने संघका अध्यक्ष पाण्डेको भनाइ थियो ।

सभामा सहकारीका अध्यक्ष थानेश्वर गैरेले सहकारी विधिसम्मत् र सेयर सदस्यमैत्री रुपमा संचालन भैइरहेको बताउनुभयो । कुटुम्बले आफूलाई शसक्त, क्षमतावान र विश्वासिलो बनाउदै अगाडि बढेको बताउँदै अध्यक्ष गैरेले सहकारीलाई आगामी दिनमा पाल्पाकै नमुना बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुटुम्बमा हालसम्म ५ सय ६४ जना सदस्य आबद्ध छन । संस्थाले निक्षेपतर्फ नियमित बचत, दैनिक बचत, मासिक बचत, आवधिक बचत तथा बाल बचत र लगानी तर्फ व्यापार, व्यवसाय, हायर पर्चेज र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचतको आधारमा बिना धितो लगानी गर्दै आएको छ । गत आवमा कुटुम्बले ७ करोड १६ लाख २३ हजार ५ सय १६ रुपैयाँ १९ पैसाको कारोवार गरेको छ । बचत निक्षेप ३ करोड ४० लाख १५ हजार ६ सय ०१ रुपैँया ०३ पैंसा संकलन गरेको छ भने २ करोड ५३ लाख ९५ हजार ५ सय ९६ रुपैयाँ ८५ पैसा निक्षेप फिर्ता गरेको छ ।

संस्थाले शेयर सदस्यमा कर्जा लगानी ३ करोड ६२ लाख ६८ हजार २ सय ९५ रुपैयाँ र २ करोड ७१ लाख १ हजार ९ सय ९० रुपैयाँ कर्जा असुली गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ३५ जना शेयर सदस्यहरुमा कर्जा लगानी गरिएकोमा आर्थिक वर्ष २०७९/०८० मा ९१ जना शेयर सदस्यहरुमा व्यापार व्यसाय, हायर पर्चेज, कृषि क्षेत्रमा लगानी गरिएको सहकारीले जनाएको छ ।

यस आर्थिक वर्ष २०७९÷०८० साउन देखि आषाढ मसान्त सम्मको कार्यालय प्रशासनिक खर्च , कर्मचारी खर्च, बचतको व्याज खर्च, आयकर कट्टी लगायत सम्पूर्ण कारोबारको खर्च दायित्व पुरा गरेर संस्थाले १५ लाख ९७ हजार ८५ रुपैयाँ ५५ पैसा खुद नाफा गर्न सफल भएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

साधारण सभाको अवसरमा संस्थामा नियमित बचत, दैनिक बचत र कर्जा कारोबार गर्नुहुने एक एक जना सदस्यहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । आगामी वर्षबाट संस्थामा आवद्ध ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सदस्यको कम्तिमा ५ लाख सम्मको दुर्घटना बीमा गर्ने र कर्मचारी संचय कोषको व्यवस्था समेत लागु गर्ने तयारी गरेको छ । साधारण सभाको अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे र पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय