विश्व एड्स दिवसमा अन्तरक्रिया

पाल्पा । जिल्लामा ३६ औं विश्व एड्स दिवस शैक्षिक सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ’ भन्ने नाराका साथ यस वर्षको एड्स दिवस मनाइएको हो ।

जिल्ला समन्वय समिति पाल्पाको समन्वयका भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ, युनाइटेड मिसन अस्पताल, प्रतिबद्ध सहयोग समूह र पाल्पा टेक्निकल इष्टिच्युटको आयोजनामा एड्स दिवस मनाइएको हो ।

दिवस बारे जानकारी गराउदै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको बताउनुभयो । नेपालमा सन् २०३० सम्ममा एड्सलाई अन्त्य गर्नका लागि राष्ट्रिय एचआइभी रणनीतिक योजना अघि सारिएको जानकारी गराउदै शाखा प्रबन्धक न्यौपानेले त्यही रणनीति अनुसार एड्स अन्त्यका लागि ९५/९५/९५ अभियान सञ्चालन भएको बताउनुभयो । जस अनुसार ९५ प्रतिशतले एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधिको उपचारमा पहुँच र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार बढ्न नदिएर रोक्ने सक्के दिगो विकास लक्ष्यको उद्देश्य हासिल हुनसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले समुदायमा संक्रमितको संख्या धेरै भएपनि अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न नसकेको बताउनुभयो । उहाँले संक्रमितलाई समुदायले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्नेमा जोड दिनुभयो । पहिले एचआईभी संक्रमित भएपछि संक्रमित र समुदायनै त्रसित हुनुपर्ने अवस्था भएपनि अहिले त्यस्तो अवस्था नरहेको उपप्रमुख गैरेको भनाइ थियो । संक्रमित समयमै खुलेर अनुशासित रुपमा नियमित औषधि सेवन गर्दा अन्य दीर्धरोग जस्तै हुने भएकोले यस विषयमा सबैपक्ष जिम्मेवार भएर सचेतना जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाल्पामा अहिले ३ सय ५२ जना एचआइभी संक्रमित रहेका छन । जसमा संक्रमित बालबालिकाको संख्या २० रहेको छ । एआरटि उपचारमा ३ सय ५१ जना रहेका छन् । तथ्याँक अनुसार १ सय ८७ महिला र १ सय ६५ पुरुष एचआईभी संक्रमित रहेको छ । गतवर्ष पाल्पामा एक जना एचआईभी संक्रमितको मृत्यु भएको थियो ।

भारत लगायत अन्य देशमा काम गर्न जानेहरु फर्किदा एचआईभी संक्रमित भएर आउने गरेका छन् । संक्रमितहरुका लागि युनाइटेड मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालबाट एआरटी सेवा पाउने व्यवस्था छ । मिसन अस्पतालकी निर्देशक रचेल कारखले गत आर्थिक वर्षमा ६ हजार २ सय ७२ जनालाई जाँच गर्दा २६ जना पोजेटिभ देखिएको बताउनुभयो । उहाँले साउनदेखि कार्तिकसम्म २ हजार १ सय १८ जनालाई जाँच गर्दा एक जना पोजेटिभ देखिएको जानकारी गराउनुभयो । सोही अवसरमा ८ जना विद्यार्थीका लागि शैक्षिक साम्रगी खरिदका लागि आर्थिक सहयोग समेत वितरण गरिएको थियो ।

कार्यक्रम संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षता र युवा सदस्य वर्षा पाण्डेयको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर