बगनासकालीको बालमैत्री गाउँ समितिको बैठक सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिकाको बालमैत्री स्थानीय गाउँ समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा बालमैत्री कार्यक्रमका लागि बिनियोजित २० लाख बजेट बाट सञ्चालन गरिने कार्यक्रम र गतिविधि बारे छलफल तथा समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकास्तरीय समितिको पुर्नगठन गरिएको र वडा स्तरमा पनि सोही बमोजिमका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी गराउनुभयो ।
बगनासकालीलाई २०७७ चैत १५ गते लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो । त्यसपछि गाउँपालिकाले हरेक वर्ष बालमैत्री शीर्षकमा बजेट बिनियोजन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

चालु आर्थिक वर्षबाट गाउँपालिकास्तरमा स्थानीय बालकल्याण अधिकारीको दरबन्दी सिर्जना गरिएको र यही महिनाभित्र पदपूर्ति गर्ने गरी तयारी गरिएको, सडक नाटकलगायत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन, बालमैत्री गतिविधिको प्रचारप्रसारलगायत विभिन्न रचनात्मक कार्यक्रमको तयारी गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भइसकेको र कार्यान्वयन पक्षमा पनि बगनासकाली पहिलो नै रहने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले बालमैत्री अभ्यास अन्तरगत गाउँपालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन सहयोगार्थ मासिक १ हजार सोही कार्यक्रम अन्तरगत प्रदान गर्दै आएको र चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बालमैत्री गाउँपालिका घोषणापछि कार्यान्वयनमा बगनाकालीले उचित कार्यक्रम बनाउँदै आएको बताउनुभयो । उहाँले बालमैत्री अभ्यासबाट प्रत्यक्ष रुपमा बालबालिकाहरु लाभान्वित हुने बताउनुभयो । पछिल्लो समय गाउँपालिकाहरुमा बालमैत्री अध्ययन तथा जानकारी लिनका लागि अन्य स्थानीय तहको टोलीहरु आउने गरेका छन् । टोलीले बगनाकालीको बालमैत्री अभ्यास र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया गर्ने गरेको गाउँपालिका प्रवक्ता टीका बहादुर थापाले बताउनुभयो ।

बैठकमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक प्रतिनिधि, बाल सञ्जालका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख प्रतिनिधिलगायत बालमैत्री स्थानीय गाउँ समितिको कार्यविधिमा उल्लेख भए बमोजिमका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बालमैत्री कार्यक्रमको गाउँपालिकाका फोकल पर्सन सुजन घिमिरेले सहजीकरण गर्नुभएको बैठक गाउँपालिका अध्यक्ष चिदीको अध्यक्षतामा बसेको हो ।

सम्बन्धित खवर