हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

पाल्पा । महिला हिंसा अन्त्यका लागि हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तानसेन नगरपालिकाको आयोजनामा तानसेन ८ को भालेबासमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति प्रतीक्षा गाहा सिंजालीले मानिसको शिक्षा र चेतनाको सभ्यतामा विकास भए पनि सोही अनुसारको व्यवहार नभएको बताउनुभयो । हिंसा अपरिचित व्यक्तिबाट नहुने बताउदै परिचित व्यक्तिबाट हुने गरेको पाइएकोले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सचेतना कार्यक्रमका सहजकर्ता अधिवक्ता शान्ति बस्याल र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले सहभागीहरुलाई हिंसा, महिला हिंसा, हिंसाबाट कसरी बच्न सकिन्छ, हिंसाको पहिचानलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँहरुले महिला अब सजग बनेर अगाडि बढ्नु पर्ने र घरेलु होस वा अन्य कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो ।

कार्यक्रममा तानसेन ७ का वडा अध्यक्ष प्रदीप खनालले सचेत समाज निर्माणमा यस्ता खाले अभियानले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । नगरपालिकाले अभियान अन्तरगत नगर भित्रका १४ वटै वडामा हिंसा विरुद्ध को सचेतना कार्यक्रम गर्नेगरी कार्यक्रम सञ्चालन गरिरहेको महिला तथा बालबालिका शाखाका चिना न्यौपानेले जानकारी दिनुभयो । तानसेन ८ मा भएको कार्यक्रम वडाध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्यक अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ । यस वर्ष “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाइदै गरेकोे अभियानमा तानसेन नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर