
रामपुर । हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पाले करिव एक महिनाको अवधीमा तीन लाख बराबरको आम्दानी गरेको छ । दसैं तिहार पर्वमा विक्री भएको सयपत्री फूलबाट उक्त रकम आम्दानी भएको हो ।
फार्ममा यसवर्षको तिहार अर्थात् भाईटिकामा करिव दुई लाख ७० हजार र दसँैमा ३० हजार बराबरको कमाई गर्न सफल भएको फार्म सञ्चालक दिलबहादुर थापाले जानकारी दिनुभयो । तिहारमा तीन दिनको अवधीमा फूलमाला विक्रीबाट दुई लाख ७० हजार बराबरको आम्दानी हुदा छोटो समयमा नसोँचेको कमाई भएको थापाको भनाई छ ।
“दसँै तिहार जस्ता चाडपर्व लक्षित लगाइएको फूलबाट राम्रै आम्दानी भएको छ, फार्ममा विक्री हुन बाँकी रहेका अझैपनि आधा फूल बोटमै छन्,” उहाँले भन्नुभयो,– “उत्पादन भएको सबै फूल समयमा नै विक्री भएको भए करिव छ लाख बराबरको यस पटक आम्दानी हुने रहेछ” ।
गतवर्ष स्थानीयस्तरमा अत्यधिक माग आएको हुदा यसवर्षको तिहारलाई लक्षित गर्दै उत्पादन वृद्धि गरिएको हो । बाहिरबाट ठूलो मात्रामा फूलमालाको माग आएपनि स्थानीय ग्राहकलाई खपत गराउन फार्ममा फूल राख्दा यस पटक आधा फूल बोटमा नै रहेको अर्का सञ्चालक लालबहादुर थापाले बताउनुभयो ।
बाहिरबाट गुणस्तरहीन फूलमाला रामपुर बजारमा भित्रिएकाले फार्ममा उत्पादन भएका सबै फूल विक्रीमा असर पुगेको उहाँले बताउनुभयो । स्थानीय उत्पादनले बजारीकरणमा झमेला बेहोर्नु परेको व्यावसायीको गुनासो छ । रामपुरमा फूलमाला पु¥याउने प्रतिबद्धता जनाउँदै बाहिरी उत्पादनलाई रामपुर नगरपालिकाले निरुत्साहित गरिदिन सञ्चालकको अनुरोध छ । कहिलेकाँही बाहिर उत्पादित वस्तु भित्रिदा स्थानीय उत्पादनले बजारीकरणमा सास्ती खेप्नु परेको छ ।
हाम्रो आधुनिक कृषिफार्ममा मात्रै दसैँ तिहारको लागि लगाइएको सयपत्री फूल करिब १२ क्वीण्टल उत्पादन भएको छ । तीन वर्षअघि देखि यस कृषिफार्ममा व्यावसायिक फूलको खेती निरन्तर भइरहेको छ । यसवर्ष चौथो वर्षको रुपमा साढे चार रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ । एक रोपनीबाट सुरु भएको व्यवसाय वृद्धि गर्दै सञ्चालकले उपभोक्तामाझ गुणस्तरीय फूलमाला पु¥याउन हाइब्रिड र नयाँ जातका फूल लगाएकाले उत्पादन बढेको हो । ग्राहकले फार्ममा नै पुगेर आफैले खोजेजस्तो रोजेजस्तो फूलमाला खरिद गर्न पाउने सुबिधाले धेरै ग्राहकको आकर्षण छ ।
यस फार्ममा गतवर्षको तिहारमा मात्रै दुई लाख ५० हजार बराबरको आम्दानी भएको थियो । चारवर्ष अघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा युवा उद्यमी दिलबहादुर थापाले एक हप्ते पुष्प व्यवसाय सम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायीक उत्पादन सुरु गर्नुभएको हो ।
फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातीका उत्पादन लगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढंगबाट थापाले व्यावसायीक रुपमा खेती गर्नुभएको छ । करिव पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यवसायिक खेती गर्न सकिन्छ । यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो पाँच सय, प्रतिमाला १ सय ५० मा विक्री हुँदै आएको छ ।