रिब्दीकोटमा प्रथम सुन्तला महोत्सव हुँदै

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ नं. वडाको पालुङ् मैनादीमा मंसिर १६ गते प्रथम सुन्तला महोत्सव हुने भएको छ ।

गाउँपालिका संरक्षक रहनेगरी वडा कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको रिव्दीकोट– ७ नं. वडाका वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनको बजारीकरण, व्यवसायिकीकरण र सुन्तलाको विविधकरणमा सहयोग गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । पालुङ्मैनादीमा मात्र करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका वडाध्यक्ष कँवरको भनाइ छ ।

महोत्सव बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकालाई कृषि र पर्यटक विकासका हिसावले अगाडि बढाउन खोजिएको बताउनुभयो । उहाँले हरेक काम नमुनाका रुपमा गर्ने प्रयन्त गाउँपालिकाले गरेको समेत बताउनुभयो । कृषकहरुकै हितका लागि गरिने पहिलो सुन्तला महोत्सवमा सुन्तला खेती गर्ने कृषक र गर्न चाहने कृषकहरुका लागि केन्द्रीत गतिविधि सञ्चालन गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । एक दिन सञ्चालन हुने महोत्सवमा माटो शिविर, प्लाण्ट क्लिनिक, विभिन्न सुन्तलाका परिकार, सुन्तला खेतीसंग गर्न सकिने अन्य खेतीका विषयमा जानकारी, सुन्तला बगैचाको अवलोकन, सुन्तला खाने प्रतियोगिता, सुन्तला खेतीमा प्रविधिको प्रयोग, विषादीको प्रयोग बारे सचेतना,का साथै उत्कृष्ट सुन्तला कृषक सम्मान कार्यक्रम गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सबैको सहयोगबाट महोत्सव सफल हुने बताउनुभयो । उहाँले सुन्तला खेती गर्ने कृषकलाई हौसला प्रदान गर्न महोत्सव सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नयाँ सोच अनुसार कृषकहरुलाई कृषि पेशालाई निरन्तरता दिने र नयाँ कृषकहरु थपिने वातावरण बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । यसका साथै उहाँले सुन्तला खेतीको प्रचारप्रसार, प्रविधि प्रदर्शन, भण्डारन र प्रशोधन सहित बजारीकरणमा महोत्सव सहयोगी बन्ने बताउनुभयो ।

गाउँपालिका भित्र करिब एक हजार ८ सय कृषक सुन्तला खेतीमा सक्रिया रहेका छन । अहिले करिब ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । गत वर्ष पालुङ्मैनादीबाट मात्रै एक करोड ८० लाखको सुन्तला विक्री भएको थियो । यस वर्ष करिब दुई करोड बढीको सुन्तला बाहिरी जिल्लामा विक्री हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । सुन्तलाजात फलफूल विकास केन्द्रका प्रमुख दीपक भटराईले महोत्सवले कृषकलाई सुन्तला व्यापारी पहिचानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषकको उत्पादन प्रदर्शन सहित प्रचार हुने भएकोले कृषकलाई फाइदा पुग्ने बताउनुभयो ।

विभिन्न शीर्षकका १० वटा स्टल रहने छ । ७ नंं वडाको १ लाख ५० हजार रुपैयाँ र अपुग खर्च रकम गाउँपालिकाबाट सहयोग हुने गरी महोत्सव सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सवमा कृषकहरुको अपनत्व, उत्पादनको बजारीकरणसंगै उचित मूल्य सुनिश्चित हुने गरी सञ्चालन गर्न सुझाएका थिए ।

सम्बन्धित खवर