पाल्पा। जिल्लाको पूर्वीभागमा रहेको निस्दी गाउँपालिकामा स्वचालित सडक बत्ति व्यवस्था भएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएकाे छ।
केहि वर्ष अगाडिसम्म अध्यारोमा हिडडुल गर्न बाध्य निस्दीवासीलाई अहिले सडक बत्तिका कारण सहज भएको हो । चालु आर्थिक वर्षको १२ लाख बजेटबाट सडक बत्ति व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले मुख्य/मुख्य बजार सडक, चोक तथा गाउँ टोलसँगै केहि विद्यालयमा स्वचालित सडक बत्ति जडान गरिएको छ । जसले गर्दा स्थानीयवासीसँगै विद्यार्थीलाई समेत सहज भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । नागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न उज्यालो निस्दी कार्यक्रम अन्तरगत गाउँपालिकाले सडक बत्तिको व्यवस्था गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाले विभिन्न ठाउँमा गरी कुल १ सय ७ वटा बत्ति जडान गरेको छ । वडा नम्बर १ बाकामलाङमा १३ वटा, सहलकोटमा १३ वटा, झिरुबासमा १३ वटा, वडा नम्बर ४ मित्यालमा १४ वटा बत्ति जडान गरिएको छ । वडा नम्बर ५ गल्धामा १० वटा, अर्चलेमा सबैभन्दा धेरै ३१ वटा र वडा नम्बर ७ ज्यामिरेमा १३ वटा गरी जम्मा एक सय ७ वटा स्वचालित सडक बत्ति राखिएको सूचना अधिकारी तथा योजना अधिकृत अर्जुन खनालले जानकारी दिनुभयो । आवश्यकता अनुसार आगामी वर्षमा गाउँपालिका भित्रका अन्य स्थानमा पनि बत्तिको व्यवस्था गरिने उहाँको भनाइ छ ।
सडक र चोकहरुमा स्वचालित सडक बत्ति जडान भएसँगै काम विशेषले रातीको समयमा आवातजावत गर्नुपर्ने नागरिकलाई सहज भएको मित्याल स्थानीयवासी चेत बहादुर गाहाले बताउनुभयो । यसका साथै गाउँपालिकाले विद्यालयमा समेत विद्युतीकरण गरेपछि विद्यार्थीको पठनपाठनमा अत्यन्तै सहजता आएको सरस्वती माध्यमिक विद्यालय गल्धाका प्रधानाध्यापक सुशील ढकालले बताउनुभएको छ ।
यसैबीच निस्दीमा सामुदायिक विद्युतीकरण मार्फत विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ३ झिरुबासको सार्कीडाँडा टोलमा बाहेक अन्यत्र सबै ठाउँमा बिजुली पुगेको लालीगुराँस सामुदायिक विद्युतीकरण समितिका अध्यक्ष दुर्गा बहादुर सोमैले बताउनुभएको छ । सामुदायिक विद्युतीकरणले नसमेटिएको क्षेत्रमा पनि राष्ट्रिय प्रशारण लाइनको काम तीब्र गतिमा भइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो ।