कानुनी सचेतना र लैंगिक समावेशीकरण परीक्षण कार्यक्रम सम्पन्न

रामपुर । महिला कानुनी अधिकार सम्बन्धी सचेतना र लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको न्यायीक समितिको आयोजनामा वडा नं. २ र ३ का महिलाहरुको सहभागितामा सोमबार कार्यक्रम सम्पन्न गरिएको हो । रामपुर नगरपालिका वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा महिलाहरुको हक अधिकार, समाजमा हुने महिला हिंसा र यसको कानुनी उपचारको प्रक्रिया लगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सभ्य र हिंसा रहित समाज निर्माणका लागि कसैले पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो । साथै हिंसा भएको महसुस भए तुरुन्त त्यसको कानुनी उपचार खोज्न महिला दिदीबहिनीहरुलाई आग्रह समेत गर्नुभयो । धेरैजसो महिला पीडा हुन्छ भन्ने डरले हिंसा सहेर बस्दा दिनदिनै हिंसा बढ्दै गएको बताउर्दै जुनसुकै हिंसाको पनि खुलेर विरोध गर्न आवश्यक रहेको नगरप्रमुख थापाको जोड थियो । उहाँले हिंसा रहित नगर निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले नगरपालिकामा घरेलु, ज्येष्ठ नागरिक, महिला र बालबालिका हिंसा सम्बन्धी विभिन्न खालका मुद्दा आउने गरेको भन्दै हरेक हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि किसिमको अन्याय नगर्न र नसहन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियार र रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले विषयगत रुपमा सहजीकरण गर्नु भएको थियो ।

यसैबीच रामपुर नगरपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाहलगायत विभिन्न ५ वटा सूचकमा रही सोमबार परीक्षण गरिएको हो । जस अन्तर्गत संस्थागत व्यवस्थापन, मानव संशाधन तथा क्षमता विकास, सेवा प्रवाह, सुशासन तथा उत्तरदायित्व, नीति कानुन तथा योजना गरी ५ वटा सूचक, २२ वटा उपसूचकको १ सय प्रश्नमा आधारित रही लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणले नागरिकमुखी सेवा प्रवाह, समावेशी र सुशासन कायमका लागि बढावा मिल्ने बताउनुभयो । उहाँले परिक्षणले नगरपालिकाबाट भए गरेका काम र सेवा के के गरियो भन्ने विषयको लेखाजोखा मात्र नभई नागरिकमैत्री सहज सेवा र पारदर्शी बनाउने बताउनुभयो ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणले आफूले गरेको कामको मूल्याङ्कन हुने र काम गर्न थप प्रेरणा मिःने बताउनुभयो । उहाँले सेवा प्रवाह लगाएत विभिन्न विषयमा भएका सबल पक्ष र दुर्वल पक्ष थाहा पाउने र सुधार गर्ने अवसर प्राप्त हुने समेत उल्लेख गर्नुभयो । स्थानीय शासन तथा लैगिंक शासन विज्ञ सोभिता परियारले समग्रमा नगरपालिकाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागितामा परीक्षण गरिएको हो । साथै सोही अवसरमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार र सबै हिंसाको आचारसंहिता सम्बन्धी विषयमा छलफल समेत भएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय