दहि चामल खाएर सकियो भुवनपोखरीको न्वागी पर्व

पाल्पा । रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा दहि चामल खाएर न्वागी पर्व सकिएको छ । मंसिर ९ र १० गते आयोजना भएको न्वागी पर्व तथा सोरठी महोत्सव सकिएको हो । प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ । यसैगरी विगतका वर्षमा जस्तै यस वर्षपनि रैनादेवी मन्दिरमा धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, महलगायत चढाएर न्वागी पर्व मनाइएको हो ।

न्वागी महोत्सवमा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती ‘बसन्त’ ले ऐतिहासिक तथा सांस्कृतिक महत्वका चाडपर्वले समाजलाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामाजिक महत्वका पर्वले कला र संस्कृतिको जगेर्ना गर्न सहयोग गर्ने बताउँदै यस्ता चाडपर्वलाई संरक्षण गर्नका लागि नयाँ पुस्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पाल्पाको रैनादेबी मन्दिर, बल्ढेगङ्ढीको छुट्टै ऐतिहासिक, धार्मिक महोत्व रहेकाले लुम्बिनी प्रदेश सरकारले यस्ता धार्मिक, पर्यटकीय स्थलहरूको संरक्षण एवम प्रवद्र्धनमा स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

रैनादवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिकाले रैनादेवी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न लागि परेको बताउनुभयो । हाल मन्दिरको पुन निर्माणको कार्य गरिएको बताउदै अब छिट्टै मन्दिरको निर्माण कार्य सम्पन्न गरी प्रचार प्रसारलाई तीव्रता दिइने जानकारी गराउनुभयो । गाउँपालिकाले पछिल्लो समयमा लोपन्मुख हुने अवस्थामा पुगेको सोरठी नाचको संरक्षण र पुस्ता हस्तान्तरणमा समेत चासो दिएको बताउदै यो वर्ष देखि गाउँपालिकाले ८ वटै वडामा रहेका सोरठी नाचलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्ने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सोरठी नाच प्रतियोगिताका लागि ८ वटै वडाका सोरठी नाच्ने व्यक्तिहरूलाई पोशाक, बाध्यवादनको सामाग्री प्रदान गरिएको बताउनुभयो । न्वागी पर्व रैनादेबी छहराको मौलिक एक छुट्टै पहिचान बोकेको पर्व रहेकोले यस्को संरक्षण र प्रचार प्रसारमा गाउँपालिका लागि परेको वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेलले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले कला संस्कृतिको संरक्षण गर्न यस्ता चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्ता पर्वले आपसी सद्भाव, मेलमिलापसँगै कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउदै यस्ता महोत्सवलाई निरन्तरता दिन आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति हिमाल दत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्र राज घिमिरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामीलगायतको उपस्थिति रहेको थियो । हराउदै गएको सोरठी नाच न्वागी पर्वकै दिन आयोजना गरिएको प्रतियोगिता सहभागी ८ समूह मध्य जनसेवा समाज कोकल्धारा सोरठी नाचमा प्रथम भएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय