सराईमा दोस्रो व्यापार महोत्सवको सुरु

पाल्पा । माथागढी ३ कसेनी सराईमा दोस्रो माडी सांस्कृतिक, पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० सुरु भएको छ । मंसिर ९ गतेदेखि सुरु भएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने छ । सराई युवा क्लबको आयोजना तथा माथागढी गाउँपालिका ३ नं. वडा कार्यालय कसेनीको सह आयोजनामा महोत्सव सञ्चालन भएको हो ।

क्लबलाई आर्थिक रुपमा सवल बनाउन र स्थानीय कृषिजन्य वस्तुको प्रचार प्रसार, कला संस्कृतिको जगेर्ना र आर्थिक चलायमानका लागि महोत्सव आयोजना गरिएको सराई युवा क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक खोमबहादुर गाहाले जानकारी दिनुभयो । उहाँले महोत्सवले पछिल्लो समयमा बजारमा देखिएको आर्थिक मन्दीलाई चलायमान गराउने, व्यवसायको प्रवद्र्धनसंगै माडी क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा कृषि, पशु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको स्टल, व्यापारिक स्टल, बाल उद्यान, लघुसंग्राहलय, माडीमा उत्पादन हुने धानको स्टल रहेका छन । यसका साथै विभिन्न जातजातिका भेषभूषा सहितको झाँकीं, विद्यालय तथा खुल्ला नृत्य प्रतियोगिता र दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवको शनिबार माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले उद्घाटन गर्नुभएको हो । उहाँले सम्भावना अनुसार कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । धार्मिक पर्यटनलाई लक्षित गरी माथागढी गाउँपालिकासंगै आसपासका स्थानीय तहहरुको कृषि, धार्मिक पर्यटनको विकासमा टेवा पुग्नेगरी महोत्सवले भूमिका खेल्ने अध्यक्ष चिदीले विश्वास व्यक्त गर्नुभयो । उहाँले माडी क्षेत्रको आर्थिक विकास तथा अन्य विकासको सम्भावनाको खोजी समेत गर्न महोत्सवले मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले कृषि उत्पादनलाई प्राथमिकता दिएर माडी क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो । माथागढी ३ कसेनी सराईका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले महोत्सवले सराईको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कसेनी सराइलाई शिक्षा र खेलकुदको हव बनाउने योजना अगाडि बढाइएको समेत बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले वडाको योजनालाई महोत्सवले योगदान गर्नुका साथै विकासको सम्भावना उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, पत्रकार माधवप्रसाद अर्याललगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले महोत्सवलाई मिडियामैत्री बनाएर लैजान आग्रह गर्दै महोत्सवबाट स्थानीय उद्योगी व्यापारीले फाईदा लिने वातावरण हुनुपर्नेमा जोड दिनुभयो । महोत्सवमा एक सय स्टल रहेका छन भने करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक क्लबका सचिव नारायणसिंह रानाले जानकारी दिनुभयो ।

विगतका समयमा जिल्ला सदरमुका तानसेन टुंडिखेलमा मात्र आयोजना हुने मेला महोत्सव क्रमिक रुपमा विकेन्द्रीकृत हुँदै गएको छ । संघीयतामा देश गएपछि निर्माण भएका स्थानीय तहहरुका बजारहरुमा विभिन्न मेला, महोत्सव हुन थालेका छन । जसले तानसेनमा मात्र महोत्सव सञ्चालन गर्नुपर्छ भन्ने धारणामा परिर्वतन गरिदिएको छ । जस अनुसार सम्भावना भएका स्थानमा सामाजिक संस्थाहरुले मेला महोत्सव चलाउँदै आएका छन । जसबाट स्थानीय क्षेत्रको प्रचार, आर्थिक आर्यआर्जनका साथै विकासको सम्भावना बारे सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय