
पाल्पा । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । अभियानका अवसरमा पाल्पामा विभिन्न कार्यक्रम गरिएको छ । प्रत्यक वर्ष अंग्रेजी महिनाको नोभेम्वर २५ देखि डिसेम्बर १० गतेसम्म अभियान सञ्चालन गरिन्छ ।
यस वर्ष “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको प्रतिबद्धता “भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन भएको छ । तानसेन नगरपालिकाले आयोजना गरेको सचेतना कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिला हिंसा अन्त्यका लागि हिंसा विरुद्धका सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
नगर उपप्रमुख प्रतीक्षा सिंजालीले मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा त्यस्तो अवस्था हुन नसकेको बताउनुभयो । उहाँले समय परिर्वतन र विकसित भएपनि महिला हिंसा कम नभएकोले महिलाहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महिला हिंसाले शान्ति, विकास र समृद्धिमा बाधा सिर्जना गर्ने भएकोले हिंसा न्यूनीकरणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
अधिवक्ता लालकुमारी राना र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले कार्यक्रममा सहजीकरण गर्दै महिलाहरु समयमै सजग बन्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले महिलाविरुद्ध हुने हिंसाले महिलाको व्यक्तित्व विकास र प्रगतिमा असर गर्ने बताउदै यस विषयमा गम्भीर हुन्ुपर्ने बताउनुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया तथा –याली कार्यक्रम गरेको छ ।
जिल्लाका प्रहरी प्रमुख हेरम्ब शर्माको अध्यक्षता, तानसेन नगरपालिकाका उप–प्रमुख प्रतिक्षा सिंजालीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
दरबार परिसरबाट सुरु गरिएको –यालीमा जिल्ला सुरक्षा निकायका प्रमुखहरु, जन प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, स्थानीय युवा क्लब, नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा “लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्विकार” लेखिएका प्ले कार्ड र सचेतनामूलक माईकिङ सहित बजार परिक्रमा गरिएको थियो ।
यस्तै रामपुर नगरपालिकामा अभियानको शुभारम्भ नगर उपप्रमुख बालकुमारी थापाले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिनयो । नगरपालिकाले दशवटै वडामा चरणबद्ध रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अनर्तगत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।