
पाल्पा । पश्चिम रुकुमका भूकम्पबाट ढलेका भौतिक संरचनाहरु उठाउन नेकपा एमाले पाल्पाको टोली सक्रियताका साथ लागि परेको छ ।
भूकम्प प्रभावितहरुलाई सहयोग गर्न पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यको नेतृत्वमा पाल्पाली टोली पश्चिम रुकुमको आठबिस्कोट नगरपालिका वाड नं १३ घेत्मामा मंसिर ५ गतेदेखि खेटको छ ।
जनताको पार्टीका रुपमा स्थापित नेकपा एमाले दुखमा साथ दिन भूकम्प पीडितहरु माझ पुगेको सांसद आचार्यले बताउनुभयो । उहाँले घेत्मा गाउँमा भत्किएका घरहरुलाई पुननिर्माणमात्र होइन, विक्षिप्त गाउँलेहरुका घाउमा मलमपट्टी लगाउन आफूहरु खटेको समेत जानकारी दिनुभयो ।
१२ दिनसम्म पश्चिम रुकुमका भूकम्प पीडितहरुसँगै रहने पाल्पाली टोलीले अहिलेसम्म चार वटा घरको भग्नावशेश हटाउने र तीन वटा टहरा निर्माणको काम सम्पन्न गरेको एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले जानकारी दिनुभयो ।
टोलीमा एमाले जिल्ला उपाध्यक्ष देवीलाल लामिछानेसहित लालबहादुर दर्लामी, रोमबहादुर लम्तरी, शंकर गौतम, साबित्रा गुरुङ्ग, राजेश भट्टराई, रमा श्रेष्ठ, कमल भट्टराई, सन्देश ढकाल, सुमन पोखरेल, जीवन घिमिरे, देवबहादुर सारु, लिलबहादुर दिशा, रमेश भट्टराई समेत रहनुभएको छ ।