
पाल्पा । दोस्रो माडी सांस्कृतिक, पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० को तयारी पूरा भएको आयोजकले जनाएको छ । माथागढी ३ सराई पाल्पामा मंसिर ९ गतेदेखि २१ गतेसम्म महोत्सव सञ्चालन हुर्दै छ ।
सराई युवा क्लबको आयोजना तथा माथागढी ३ कसेनी वडा कार्यालयको सह आयोजनामा हुन लागेको महोत्सव बारे तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
कार्यक्रममा सराई युवा क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक खोमबहादुर गाहाले स्थानीय कृषिजन्य वस्तुको प्रचार प्रसार, कला संस्कृतिको संरक्षण युवा परिचालनका लागि दोस्रो महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले महोत्सवले आर्थिक चलायमान, व्यवसायिक प्रवद्र्धन तथा क्लबको कोष वृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयोजक गाहाले महोत्सवमा एक सय स्टल र करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा माथागढी ३ कसेनी सराईका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले महोत्सवले सराईको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कसेनी सराइलाई शिक्षा र खेलकुदको हव बनाउने योजना अगाडि बढाइएको समेत बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले वडाको योजनालाई महोत्सवले योगदान गर्नुका साथै विकासको सम्भावना उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा कृषि, पशु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको निशुल्क स्टल, लघुसंग्राहलय, माडीमा उत्पादन हुने धान, विभिन्न जातजातिका भेषभूषा सहितको झाकीं र विद्यालय तथा खुल्ला नृत्य प्रतियोगिता र दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक क्लबका सतिव नारायणसिंह रानाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महोत्सवलाई मिडियामैत्री बनाएर लैजान आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले महोत्सवबाट स्थानीय उद्योगी व्यापारीले फाईदा लिने वातावरण हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले अधिकांश मेला महोत्सवमा आयोजकलाई भन्दा बढी फाईदा अन्य व्यक्ति तथा संस्थालाई हुने गरेको देखिएकोले यस विषयमा ध्यान दिन सुझाव राखेका थिए ।