
पाल्पा । जाजरकोट र पश्चिम रुकुम जिल्लामा गएको भूकम्पबाट पीडितको राहत र पुनःस्थापनाका लागि रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले आर्थिक सहयोग पठाउने भएका छन ।
रिब्दीकोट गाउँपालिकाको मंसिर ५ गते बसेको कार्यपालिका बैठकले १ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षबाट ५ / ५ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट २/२ हजार र वडा सदस्यहरुबाट १/१ हजार उठाउदा हुने रकम आर्थिक सहयोग स्वरुप सहयोग गरिने निर्णय गरेको बताउनुभयो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खातामा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तैगरी रैनादेवी छहरा गाउँपालिकाले पनि भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । गाउँपालिकामा बसेको बैठकले भूकम्प प्रभावितका लागि ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रैनादेवी छहराका जनप्रतिनिधिहरुले भूकम्प प्रभावित क्षेत्रमा, राहत, पुनस्थापना र पुनःनिर्माणलगायतको काममा सहयोग पुग्नेगरी रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष रुक्मागंत भट्राईले जानकारी दिनुभयो ।
गाउँपालिकाले अध्यक्ष, उपाध्यक्षको ५ दिनको तलब, वडा अध्यक्षहरुले २ दिनको तलब र अन्य वडा सदस्यहरुले १ दिन बराबरको तलब भूकम्प पीडिल सहयोग गर्ने निणर्य भएको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । गाउँपालिकाले भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न समेत अपील गरेको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिनुभयो ।
सरकारले भूकम्पपीडितको राहत र सहयोग एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको छ । सोहीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन आग्रह गरेको छ । सोही अनुसार सहयोग रकम जम्मा गरिने गाउँपालिकाले जनाएका छन । यस अघि जिल्लाका रामपुर, माथागढी र तानसेन नगरपालिकाले भूकम्प प्रभावितहरुलाई सहयोग उपलब्ध गराइसेकेका छन ।