पाल्पा । चाडपर्व मनाउन जन्मघर आएकाहरु कर्मथलो फर्किएपछि गाउँघर सुनसान भएका छन् । बडा दसैं, तिहारलगायतका पर्व मनाउन गाउँ आएकाहरु पर्व मनाएर सहर पसेका छन् । अहिले जिल्लाका सबैजसो ग्रामीण वस्ती सुनसान भएका छन् । पर्वका समयमा गाउँ पुगेर जन्मघर सरसफाई, लिपपोत गर्ने, परिवार तथा साथीभाई, इष्टमित्रसंग भेटघाट हुने क्रममा देखिएको चहल पहल र रमाइलो छोटो समयमै सकिएको छ । गाउँघर पुन ज्येष्ठ नागरिकहरु मात्र बस्ने थलो बन्न पुगेको छ ।
पर्वका समयमा शैक्षिक संस्था लामो समय बन्द हुने भएकाले अध्ययनका लागि घर बाहिर बसेका विद्यार्थी र अभिभावकहरु गाउँ पुगेका थिए । यस्तै रोजगारीका लागि स्वदेश वा विदेशमा रहेका युवा पुस्ता र अन्य अवसरका लागि गाउँ छाडेकाहरु परिवारसंगै चाडपर्व मनाउन जन्मघर आए पनि दसैं र तिहार सकिएसँगै कर्मथलो फर्किएकाले गाउँ सुनसान भएको लक्ष्मी माध्यमिक विद्यालय तानसेन ५ का प्रधानाध्यापक विष्णुप्रसाद सिग्देलले बताउनुभयो ।
पछिल्लो समय गाउँमा धेरैजसो उमेर ढल्केका व्यक्तिहरुको मात्र बाहुल्यता रहेको छ । चाडपर्वका समयमा मात्र गाउँ सम्झने गरेको पाइन्छ । स्कुले विद्यार्थी, युवा जनशक्तिहरु सबै सहर बजारतिर अवसरका लागि हिडन थालेपछि गाउँ रित्तिन थालेको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकथान खनालले बताउनुभयो । उहाँले सबैले गाउँ छाडेर जान थालेपछि गाउँका उर्वरभूमी खेर गइरहेको बताउनुभयो । राम्रै खेती हुने जमिन अहिले वनमारा सहितको झाँडीले भरिँदै गएको उहाँको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले पनि आजभोली ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु सहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ गर्न थालेका छन् । यसका अलवा रोजगारी र अवसरको खोजीमा गाउँ बस्ने रहर हुँदाहुँदै पनि बाध्यताले गाउँ छोडनु परेको छ । सीमित समयका लागि मात्र देखिएको गाउँको रौनक पर्वहरु सकिएलगतै हराएको छ । शिक्षा र रोजगारीका लागि घरबाहिर रहेका छोराछोरी चाड पर्व मनाउन गाउँमा आउँदा खुसी लाग्ने तर छोराछोरी फेरी कर्मथलो हिँडेपछि नरमाइलो लाग्ने गरेको रैनादेवी छहरा गाउँपालिका ७ का रामबहादुर सापकोटाले बताउनुभयो ।
चाडबाडमा परिवारसंगै खुसीयाली मनाउन जन्मथलो आएपनि समय अनुसारको शिक्षा र आवश्यक रोजगारी स्थानीयस्तरमा नहुँदा आफ्नै घरका अभिभावकसंग पाहुना जस्तो हुनुपरेको अस्ट्रेलीयाबाट दशै मनाउन आउनुभएका तानसेन ११ का जुकियाका प्रकाश रानाभाटले बताउनुभयो । परिवारसंग सुखदुख साटासाट गरेर पर्व मनाउन र केही समय भएपनि संगै बस्न पाइने भएकोले छोटो समयको विदामा पनि नेपाल आएको उहाँको भनाइ थियो । दशै तिहार परिवारसंग मनाउन विदेश रहेका धेरैजसो युवाहरु नेपाल फर्कने गर्दछन् ।
यससँगै सहर बजारमा भने चहल पहल सुरु भएको छ । लामो समयको विदापछि शैक्षिक संस्थाहरु खुलेका छन् । सरकारी तथा सामाजिक संघसंस्थामा काम काज नियमित भएको छ । पर्वले रोकिएका कामहरु सुचारु भएका छन् । केही काम विशेषले घरबाहिर हुने व्यक्तिहरुले आÇनो प्रशासनिक काम गर्न जिल्लामा रोकिएका छन् । वर्ष दिनको पर्वहरु सकिए लगतै अधिकांश नागरिक आÇनो दैनिकीमा व्यस्त हुन थालेकोले गाउँ सुनसान हुन पुगेको पत्रकार राजेन्द्र लिगलले बताउनुभयो ।