पाल्पा । रिब्दीकोट १ जोगीथुममा भएको निःशुल्क स्वास्थ्य शिविरबाट करिव २ सय जनाले सेवा लिएका छन । युवा सूचना तथा संजिवन काठमाण्डौं नेपालको सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोग तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा शिविर भएको हो ।
शिविरमा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले रोगको पहिचानका साथै परामर्श सेवाले नागरिकहरू स्वास्थ्य रहन महोत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, उनीहरुलाई सचेत बनाउन र रोगको निदानमा सहयोग गर्ने गरी शिविर आयोजना गरिने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्वास्थ्य शिविर आयोजना गर्दा स्थानीयस्तरमै नागरिकले सहज रुपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गरेको बताउनुभयो । उहाँले यस्तो पवित्र कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन चाहेको खण्डमा गाउँपालिका सहकार्य गर्न तयार रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा रिब्दीकोट १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले शिविरले वडाका नागरिकहरूको स्वास्थ्य थाहा हुनुका साथै स्वास्थ्य सुधारमा सहयोग पुगेको बताउनुभयो । मानिसले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुने बताउनुभयो । शिविरमा मधुमेह, रक्तचाप परीक्षण, आँखा परीक्षण, छाला परीक्षण, सामान्य चिकित्सक सेवा प्रदान गर्नुको साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।