पाल्पा । माथागढी गाउँपालिकाको समग्र विकासका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको समग्र विकासको खाका तयार गर्न कार्यशाला गरिएकाे गाउँपालिकाले जनाएको छ ।
गोष्ठीमा आर्थिक समृद्धिका आधार, स्वास्थ्य, शिक्षा, खनिज तथा खानिजन्य पदार्थको समुचित प्रयोग, सडक, युवा रोजगार तथा स्वरोजगार, स्थानीय उत्पादन र बजारीकरण, कृषि र पर्यटन, फोहरमैला व्यवस्थापन, कला तथा संस्कृति, सुरक्षा तथा आवास, सूचना तथा सञ्चारलगायतका विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । माथागढी गाउँपालिकाको आर्थिक, सामाजिक अवस्था, समस्या र सम्भावनाका साथै पालिकाको समग्र विकासका लागि आवश्यक योजना निर्माण, सञ्चालनका विषयमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
कार्यशालामा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले स्थानीय सरकारको अधिकारको उच्चतम प्रयोग, विद्यार्थीको खाजा व्यवस्थापनमा स्थानीय उत्पादनको प्रयोग, सामाजिक ज्ञान र सिर्जनशीलता, मातृभाषाको संवर्धन र प्रवद्र्धन, पालिकासंग सम्बन्धित विषयवस्तुमा खोज तथा अनुसन्धान गर्नेलाई आर्थिक सहयोग, कृषि र पर्यटनलाई जोड्ने, स्थानीय उत्पादनको ब्राण्डिङका विषयमा पालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकार आर्थिक रुपमा बलियो भएमात्र सबै नागरिकका आवश्यकता पूरा गर्न सकिने भएकोले त्यसतर्फ ध्यान केन्द्रित गरेर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारुले एकीकृत ढंगको विकास, टुक्रे बजेटको कटौती, प्रदेश र संघीय सरकारसंग समन्वय गरी आवश्यक र नविनतम कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नकारात्मक सुचक घटाउने, नसके रोक्ने, खरो, छिटो र छरितो कार्यान्वयन तथा हरेक पक्षमा स्पष्टताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा सडक पूर्वाधार निर्माण तथा सडक मापदण्ड निर्धारण, भौतिक पूर्वाधार निर्माणका विषयमा समेत छलफल गरिएको थियो । गोष्ठीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले माथागढी गाउँपालिकाको समग्र सुचक औषत रहेको, श्रोत कम तर आवश्यकता धेरै भएकोले सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख अर्थविद प्राध्यापक डाक्टर शिवराज अधिकारीले रोजगारी र उत्पादन वृद्धि, समानता, योजना तर्जुमा गर्दा सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाका श्रोत र विकासमा लक्षित समूहको उपस्थिति अनिर्वाय गराएर काम गर्दा सहज हुने बताउनुभयो ।
गोष्ठीमा बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेन्द्रबहादुर जिसी, माथागढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामी, वडा नं. २ का अध्यक्ष बोम बहादुर ठाडा, ३ का अध्यक्ष तेज घर्तीमगर, ५ का वडाध्यक्ष गणेशमान गाहा, कार्यपालिका सदस्य तुलसा न्यौपानेलगायतले माथागढीको विकासका लागि दीर्घकालीन योजना बनाउन कार्यशाला फलदायी रहेको बताउनुभयो । उहाँहरुले कार्यशालामा उठेका सवालहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।