
पाल्पा । तिनाउ –४ को सत्यवती तालमा ५ दिने धार्मिक मेला लाग्ने भएको छ । यहि मंसिर ७ गतेदेखि ११ गतेसम्म पूजा तथा मेला सञ्चालन गर्ने तयारी भएको पत्रकार सम्मेलनमा सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले जनाएको छ ।
विगतका वर्षहरुमा कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती बज्यैको दर्शन गर्ने जोग अनुसार दर्शनार्थी पुग्ने गरेपनि अहिले बाह्रै महिना दर्शनार्थीहरु सत्यवती तालमा दर्शनका लागि पुग्ने गरेकोले वार्षिक रुपमा धार्मिक मेला आयोजना गरिने गरेको समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुयभो । उहाँले कात्तिक चतुर्दशीका दिन भक्तजनहरू रातीको १२ बजे सत्यवती बज्यैको मन्दिरमा पूजा पाठ गरी चिच्याएर वर मागी बिहानपख झिसमिसेमै बाटो लाग्ने प्रचलन भएपनि अहिले जुनसुकै दिन र समयमा दर्शनार्थी आउने र वर माग्नेको संख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ ।
यसवर्ष नेपाल र भारतका गरी एक लाख बढी श्रद्धालु भक्तजन मेला भर्न आउने अनुमान समितिले गरेको छ । गतवर्ष वर माग्ने ‘जोग’ परेकाले करिब १ लाख ५० हजार बढी श्रद्धालु भक्तजन सहभागी भएको र २१ लाख ५८ हजार दान र भेटी वापत रकम उठेको अध्यक्ष गाहाले बताउनुभयो । यस वर्ष मंसिरमा पूर्णिमा पर्दा ‘जोग’ छैन तरपनि श्रद्धालु भक्तजनको संख्यामा भने कमी नआउने समितिको दावी छ ।
दर्शनका लागि मेलामा आउने भक्तजनहरुको सुविधाका लागि सडक स्तरोन्नति, विजुली व्यवस्थापन, स्वयमसेवक तथा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको आयोजकको भनाइ छ । सत्यवती ताललाई तिनाउको एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले काम भैरहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले प्रदेश र संघसंग समन्वय गरेर काम गरिएको समेत बताउनुभयो ।
तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत दर्शनार्थी आउने गर्दछन ।