एमाले पाल्पा र जनप्रतिनिधीबीच अन्तरक्रिया

पाल्पा । नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भएर निर्वाचित जनप्रतिनिधीबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । एमाले जिल्ला कमिटी पाल्पाले स्थानीयतह, प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधीहरु संग एक दिने अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले निर्वाचित जनप्रतिनिधिहरु लाई वर्तमान संविधान, ऐन नियम तथा कानुनलाई सर्वाेपरी मानेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसका साथै पार्टीको केन्द्रीय घोषणापत्र र जनतामाझ सार्वजनिक गरेको प्रतिवद्धतापत्र अनुसार काम गरेर इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । जनताको भावना, विचार, आवश्यकता अनुसार काम गरेर जनतामैत्री बन्न नेता गैरेले आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले लुम्विनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेंलले अहिले पार्टी भित्र जुनसुकै पद लिन मरिहत्ते गर्ने तर जिम्मेवारी बहन सहि रुपमा नगर्ने परिपाटी मौलाएको बताउनुभयो । उहाँले बैठकहरुमा उपस्थित नहुने, पार्टीको नीति, नियम सिद्धान्त विपरित काम, आचारण तथा व्यवहार गर्ने, पार्टीको अनुसासनमा नबस्ने विकृती पार्टीभित्र बढेकोले यस विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय पार्टीबाट टिकट लिएर जनप्रतिनिधि भएका व्यक्तिहरुले आफू भन्दा ठुलो कोहि छैन भन्ने स्वाभाव बढेकोले आगामी दिनमा कामको आधारमा जिम्मेवारी दिने परिपाटी लुम्विनी प्रदेशका जिल्लामा सुरु गरिएको अध्यक्ष कडेंलले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायणप्रसाद आचार्यले सबै तह र तप्काका जनप्रतिनिधिहरुले आआफ्नो क्षेत्रबाट जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । जनताको घर घरमा जनप्रतिनिधिहरु पुग्न मात्र सकेको खण्डमा एमाले पार्टी सधै भरी अग्रस्थानमा रही रहने उहाँको भनाइ छ । जनप्रतिनिधि जनताको सेवक हौ, जनताबाट अनुमोदित भएको हुँदा पार्टीको नीति नियम सिद्धान्तमा विचलन आउने गरी कुनै पनि जनप्रतिनिधिहरुले काम गर्न नहुने प्रतिनिधिसभा सदस्य आचार्यले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद खेम बहादुर, राजु प्रसाद श्रेष्ठ र इन्दा गहतराजले लुम्विनी प्रदेश सरकारबाट माग भएका प्रतिपक्ष सासंदका योजना भन्दा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफूखुसी अरवौ बजेट राखेर दुरुपयोग गरेका बताएका थिए । एमाले सरकारबाट सुरु गरिएका बहुवर्षिय योजनाहरु समेत कटौती गरी विकास विरोधी काम गर्दा पार्टीले सक्रिय भूमिका निर्वाह नगरेकोले प्रदेश सांसदहरु निरह बन्नु परेको प्रदेश सांसदहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेकी उप सचिव सुनिता शर्माले प्रतिनिधीसभा, प्रदेशसभा संग नबाझिने गरी ऐन नियम बनाएर जनताको भावना अनुसार काम गर्न अधिकार स्थानीय सरकारलाई दिएकोले अधिकांश समस्याहरु पालिका बाट सम्वोधन गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रमम, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, सम्पूर्ण वडा अध्यक्षहरुकोतर्फ तानसेन नगरपालिका वडा नंं ९ का वडाध्यक्ष राजेशकुमार अर्याल, उपाध्यक्षहरुको तर्फबाट बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, पालिकाका प्रमुखहरुकोतर्फबाट रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदिय जिम्मेवारी अनुसारको प्रतिवेदन पेश गर्दै पालिका अनुसार समस्याहरु फरक फरक रहेकोले पार्टीको समयन्वय र सम्पर्कमा रहेर काम गर्दै आएको जानकारी गराउनुभएको थियो ।

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, वडा अध्यक्षहरु नविन्द्र थापा सोती, विष्णु रेग्मी, दानबहादुर कुवँर, सोमनाथ अर्याल, पर्यटन व्यबसायी धनिश्वर बस्याल, पुर्वखोला गाउँ कमिटी अध्यक्ष जीवन आचार्य, दलबहादुर गुरुङ लगायतले स्थानीयतहमा काम गर्दा आईपरेका समस्याहरुको बारेमा पार्टीका नेतृत्वकर्ता तथा प्रदेश र संघीय सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा ४१ वडाका वडाध्यक्ष, ६ वटा पालिका प्रमुख, ५ वटा पालिका उपप्रमुख, ३ जना प्रदेशसभा सदस्य, २ जना प्रतिनिधीसभा सदस्य, १० वटै पालिका कमिटीका अध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।

एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलेको अध्यक्षतामा चलेको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत तथा सचिव रामजी पोखरेलको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय