पाल्पा । रम्भा गाउँपालिकाका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको लागि सञ्चालन गरिएको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।
कालीगण्डकी गुरुकुलम रम्भा १ असेर्दीमा ५ दिन सम्म चलेको तालिममा सिकाई वातावरण सुधार योजना, रम्भा गाउँपालिकाको दस वर्षे गाउँ शिक्षा योजना निर्माण, नेतृत्वका प्रकार शैली, समूह कार्यलगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा रीड नेपाल ताप्लेजुङ्गका प्रबन्धक राजेन्द्रप्रसाद पन्त, चिकित्सा शिक्षा आयोगका सदस्य मेघनाँथ शर्मा, सिकाई प्रवद्र्धन परियोजनाका प्रबन्धक कपिल पुरीले सहजीकरण गर्नु भएको परियोजनाका शिक्षा प्रमुख कृष्ण कुवँरले बताउनुभयो ।
रम्भा गाउँपालिकाका ३६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुको तालिममा सहभागीता रहेको थियो । तालिममा सफल विद्यालयले गरेका अभ्यासहरु बारे अनुभव साटासाट गर्न देववाणी माध्यमिक तानसेनका प्रधानाध्यापक कृष्णबहादुर थापा तथा कालीगण्डकी गुरुकुलमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चैतन्य देवले आफ्ना अनुभवहरुको आधारमा अन्तरक्रिया समेत गरिएको थियो । रम्भा गाउँपालिकाले आगामी १० वर्षको लागि निर्माण गर्न लागेको गाउँ शिक्षा योजनाको प्रस्तावित ढाँचामा प्रधानाध्यापकहरुको राय, सुझाव समेत संकलन गरिएको थियो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेय, उपाध्यक्ष जगदीश प्रसाद गैरे, प्रशिक्षक मेगनाथ शर्माले तालिममा सिकाईएका विषयहरुको व्यवहारमा लागुहुने कुरामा विश्वस्त रहेको बताउनु भयो । यसै गरी नेपाल शिक्षक महासंघ रम्भाका अध्यक्ष कृष्णप्रसाद बस्याल, अमर आधारभूत विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद बस्याल, कालीगण्डकी गुरुकुलमका विव्यस अध्यक्ष चैतन्य देव, जनकल्याण माविका विव्यस अध्यक्ष दिनेश भट्टराई, रविकिरण माविका विव्यस अध्यक्ष हेमप्रसाद अर्याल लगायतले तालिमको प्रभावकारीता र यसको कार्यान्वयन बारे शुभकामना राख्नु भएको थियो । समापन कार्यक्रम सिकाइ सहजीकरण परियोजनाका शिक्षा प्रमुख कृष्ण कुवँरको संचालन तथा रम्भा गाउँपालिका शिक्षा अधिकृत मीनादेवी आचार्यको अध्यक्षतामा चलेको थियो ।