पाल्पा । तानसेनको टक्सारमा शुक्रबारदेखि रोटी महोत्सव हुने भएको छ । महोत्सव दुई दिन सम्म सञ्चालन हुने छ ।
कला संस्कृतिमा धनी रहेको तानसेनको टक्सारटोलमा तिहार पर्व लाई लक्षित गरेर रोटी महोत्सव गर्न लागिएको हो । पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका ३ नं. वडा कार्यालय र मैत्री क्लब तानसेनको आयोजनामा प्रथम रोटी महोत्सव हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक रञ्जना थापा अर्यालले जानकारी दिनुभयो ।
महोत्सबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलनमा रोटी महोत्सवमा स्थानीयस्तरमा उत्पादित रोटीहरु फिनी, लाखा, जुम्ली, अनरसा, अर्सा, झिँनीया, सेलरोटी, झर, पाते, लहरा तथा खुर्मा जस्ता रोटीका प्रकारहरु राखिने संयोजक थापा अर्यालले भनाइ छ । महोत्सवमा आउने पाहुनाहरुलाई अन्य स्थानमा भन्दा सस्तो र गुणस्तरीय रोटीहरु उपलब्ध गराइने आयोजकको दावी छ ।
तानसेनको बजारलाई चहल पहल बनाउन, स्थानीय उत्पादनको विक्री वितरण बढाउन, स्थानीय स्तरमा रोजगारी बढाउन पाल्पा उधोग वाणिज्य संघले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न रोटी महोत्सवको आयोजना गरेको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द भट्टराईले बताउनुभयो ।
पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले टक्सारटोल कला संस्कृतीमा धनी रहेको भएपनि पछिल्लो समय बजारमा चहल पहल हराउदै गएको अवस्थामा रोटी महोत्सवले उत्साह थप्ने बताउनुभयो । यस्तो महोत्सव एक पटक मात्र नभई अन्य चाडपर्वहरुलाई लक्षित गरेर गर्नुपर्नेमा उहाँको जोड थियो ।
पत्रकार सम्मेलनमा सहभागीहरुले रोटी महोत्सवमा रोटीसंगै तिहारका लागि आवश्यक अन्य सामग्री पनि एउटै थलोमा राख्ने गरी स्टल व्यवस्थापन गर्दा राम्रो हुने सुझाव राखेका थिए । उनीहरुले महोत्सवमा अन्य स्थानमा भन्दा सस्तो मुल्यमा उपभोक्ताले रोटी र तिहारका सामग्री प्राप्त गर्ने वातावरण निर्माणका लागि आयोजकले ध्यान दिनुभपर्नेमा जोड दिएका थिए ।