
पाल्पा । लागूऔषध दुर्व्यसन नियन्त्रणका साथै सुरक्षित यौन जीवन बारेमा युवा र अभिभावकबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको सहयोग तथा माथागढी गाउँपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रममा लागुऔषध के हो, यसको असर, किशोर किशोरी र समाजमा लागुऔषधले पार्ने असर र सुरक्षित यौन जीवनका विषयमा विषयविज्ञले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आम युवालाई लागूऔषध जस्ता दुर्व्यसनीबाट जोगाउन सबै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सुरुमा अधिकांश युवाहरु साथीको संगतमा लागेर लागुऔषध प्रयोग गर्ने र पछि त्यसबाट मुक्त हुनै नसक्ने गरी फस्ने गरेकोले त्यस्तो संगतबाट छोराछोरीलाई टाढा राख्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवा तथा किशोर किशोरीहरु बढी महत्वकाक्षी हुने गरेको पाइएकोले सोचेजस्तो नतिजा प्राप्त गर्न नसक्दा निराश भएर कुलतमा फस्ने र आत्महत्यालगायतका समस्या निम्त्याउने गरेको बताउदै यसबाट जोगाउन सबैपक्षको महत्वपूर्ण भूमिका रहने अध्यक्ष चिदीले भनाइ छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक नागरिकलाई कुलतबाट मुक्त गर्न राज्यमात्र लागेर सम्भवन नहुने बताउनुभयो । उहाँले आमनागरिकको सकरात्मक पहलबाट युवाहरुलाई दुर्व्यसनबाट बचाउन सकिने बताउनुभयो । यस विषयमा सबै सरोकारवालाहरु एकजुट भएर ग्रामीणस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माले लागुऔषध नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पाल्पामा लागुऔषधको दुर्व्यसनको समस्या गम्भीर नभएपनि गाँजालाई लागुऔषधको रुपमा प्रयोग हुने गरेकोले यसको प्रयोग र असरबारे सचेतना जगाउनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक सोबाकान्त न्यौपानेले किशोरावस्थामा हुने शारीरिक, मानसिक र सम्वेगात्मक परिवर्तनका बारेमा जानकारी गराउनुभयो । उहाँले किशोरावस्थामा हुन सक्ने विभिन्न नकारात्मक पक्षबाट बच्न पहिला अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो । प्रवन्धक न्यौपानेले सुरक्षित यौन जीवनका लागि यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा गम्भीर हुनुपर्नेमा जोड समेत दिनुभयो ।
माथागढी ३ कसेनी सराई क्षेत्रका अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका कार्यबहाक सभापति माधव प्रसाल अर्याल, दिव्य ज्योति नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, कमल बस्याललगायतले दुर्व्यसनले युवा र समुदाय दुवै क्षेत्रमा नकारात्मक असर गर्ने भएकोले यस विषयमा युवाहरु समयमै सचेत हुने वातावरण निर्माण गर्नुपर्नेमा सबै निकाय जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।