रामपुरका विद्यालयमा बुक फ्रि फ्राई डे

पाल्पा । रामपुर नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा बुक फ्रि फ्राई डे कार्यक्रम लागु गरेको छ । जसको गत शुक्रबार नगर प्रमुख सहितको टोलीले अनुगमन गरेको छ ।नगरपालिकाले यस आर्थिक वर्षबाट सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।

यस कार्यक्रम अन्तर्गत विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाइन्छ । कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान , रामपुर आधारभूत विद्यालय रामपुर ५ कान्जीहाउस र नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा सञ्चालित बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरिएको हो ।

अनुगमनमा पुग्नुभएका नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक ज्ञान प्रदान गर्नका लागि बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई सोही कला र क्षमताको विकास गर्न यो कार्यक्रमको अवधारणा ल्याइएको समेत बताउनुभयो । नगर प्रमुख थापाले विद्यार्थीहरुको आवश्यकता र चहानालाई समेटेर हरेक विद्यालयले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले कक्षा कोठामा दिइने शिक्षा सैद्धान्तिम बढी व्यवहारिक कम हुने भएकोले यो कार्यक्रम लागु गरिएको बताउनुभयो । उहाँले नगर क्षेत्रको शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउनका लागि नगरपालिकाले बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो । शिक्षा शाखा प्रमुख विकल कफ्लेले नगरले लिएको शिक्षा नीति अन्तर्गत सबै विद्यालयले यो कार्यक्रमलाई निरन्तरता दिएको र विद्यार्थीहरुको व्यवहारमा पनि परिवर्तन आएको बताउनुभयो ।

यो कार्यक्रम अन्तर्गत वार्षिक रुपमा कार्यतालिका बनाएर विद्यार्थीहरुलाई विभिन्न व्यवहारिक सीप सिकाउँदै आएको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थीहरुमा रहेका प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गरी विद्यार्थीहरुको भविष्य निर्माणमा सहज हुने विश्वास लिएको कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पाका प्रधानाध्यापक मनीराज अधिकारीले बताउनुभयो । विद्यार्थीहरुलाई हस्तकलाका सामग्री निर्माण, रहन सहन, कला संस्कृति सम्बन्धी ज्ञान दिने गरिएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो ।

सम्बन्धित खवर