तलबभत्ताबाट विकासमा सहयोग गर्दै अध्यक्ष कार्की

पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले निर्वाचनका समयमा नागरिकलाई गरेको प्रतिबद्धता अक्षरश पालना गर्दै आउनुभएको छ ।

निर्वाचनमा मत माग्न मतदाता समक्ष पुग्दा आफ्नो उमेद्वारी नागरिकको सेवाका लागि भएको बताउदै अध्यक्ष पदमा निर्वाचित गराए आफूले प्राप्त गर्ने तलबभत्ताको रकम स्थानीस्तरका ग्रामीण क्षेत्रको विकास निर्माणमा खर्च गर्ने बाचा सहित विजयी बनेका अध्यक्ष कार्कीले आफ्नो इमान्दारिता देखाउनुभएको छ । अध्यक्ष कार्कीको यो प्रशंसनीय कार्य अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले समेत सिक्नुपर्ने आमनागरिकको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा अध्यक्ष कार्कीले प्राप्त गरेको तलबभत्ताबाट शिक्षा, स्वास्थ्य, खेलकुद, विकास निर्माणलगायतका क्षेत्रमा सहयोग गरेको विवरण सार्वजनिक गर्नुभएको थियो । यस चालु आर्थिक वर्षको रकमबाट रिब्दीकोट गाउँपालिका वडा नं–७, बतासेदेखि डबका, फेक हुँदै रानीबगिया जोड्ने मोटरबाटो स्तरोन्नतिमा अध्यक्ष कार्कीले तलबभत्ताको रकम खर्च गर्नुभएको छ । सडकको स्तरउन्नतिका क्रममा अपुग भएको रकम ६० हजार रुपैयाँ तलवभत्ताको रकमबाट खर्च गरेर सडक निर्माणमा सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

यो सडक विस्तारका लागि गत आर्थिक वर्षमा संघीय सरकार, सडक डिभिजन कार्यालय पाल्पाबाट पचास लाख रकम विनियोजन भएको थियो । काम सम्पन्न गर्दा प्राविधिक मुल्यांकन भन्दा बढी रकम खर्च भएपछि अपुग रकम अध्यक्ष कार्कीले उपभोक्ता समितिमार्फत आफ्नो रकम हस्तान्तरण गर्नुभएको वडा नं. ७ का अध्यक्ष दानबहादुर कुवंरले बताउनुभयो ।

अध्यक्ष कार्कीले निर्वाचनमा भने अनुसार नै आफूले कुनै सुविधा नलिएको र निरन्तर नागरिकको समस्या समाधानमा रकम खर्च गरेको उहाँले बताउनुभयो । पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि आर्थिक अनियमितता र सुविधाभोगी भैरहेको समयमा रिब्दीकोटका अध्यक्ष कार्कीले गर्ने गरेको सानो / सानो सहयोगबाट नागरिकलाई सहज बनाएको स्थानीयवासीको भनाइ छ ।

अध्यक्ष कार्की गाउँपालिकामा निर्वाचित भएपछि म बनाउछु मेरो रिब्दीकोट अभियान सुरु गर्नुभएको छ । नागरिकलाई सुविधा पुग्ने गरी सरसफाई र विकास निर्माणका क्षेत्रमा स्वयमसेवी रुपमा सहभागितामा सञ्चालन भएको अभियानले नागरिक, जनप्रतिनिधि र कर्मचारी बिच सम्बन्ध विस्तारका साथै विकासमा सहकार्यको वातावरण निर्माण भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय