
पाल्पा । जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमा घुम्न आउने पर्यटकहरुको घुइँचो लागेको छ । करिब एक महिनादेखि आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि भएका कारण पर्यटकीय स्थलमा घुइँचो लागेको पर्यटन व्यवसायीको भनाइ छ । जिल्लामा कति पर्यटन आएभन्ने एकिन गर्न पर्यटन सूचना केन्द्र छैन । पर्यटन व्यवसायीहरुले लामो समयदेखि पर्यटन विकासका लागि जिल्ला आउने पर्यटकको संख्या एकिन गर्न र पर्यटक गन्तव्यको बारेमा सूचना प्रवाहका लागि सूचना केन्द्र स्थापनाको माग गरेपनि स्थानीय सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
नेपालीहरुको प्रमुख चाड पर्वको समय भएकोले पनि जिल्लामा पर्यटकहरुको उपस्थिति बाक्लो रहेको हो । बडादसैँ र तिहारको समयमा हुने लामो बिदाका कारण समय विताउन रानीघाट दरबार, श्रीनगर, पाल्पा दरबार संग्र्रहालय, भैरवस्थान, ऋशीकेश मन्दिर रुरु क्षेत्र धाम, नारायणस्थानलगायतका स्थलहरुमा घुम्न आउने पर्यटक बढेको होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्यालले बताउनुभयो ।
काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत देशका विभिन्न स्थानबाट पाल्पामा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । यसका साथै छिमेकी मुलुक भारत, चीन सहित जापान, युरोपलगायतका देशबाट समेत पर्यटक आउने गरेका छन । विदेशी पर्यटक ऐतिहासिक स्थलहरूको अवलोकनमा चासो दिने गरेको र आन्तरिक पर्यटक रानीमहल, भैरवस्थानसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । पाल्पा दरबार सङ्ग्रहालय, नारायणस्थान, भगवतीस्थान ऐतिहासिक पर्यटकीय स्थलका रुपमा परिचित रहेका छन । रानीघाट दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । भैरवनाथ मन्दिर हिन्दु धर्मावलम्बीको मनोकामना पूरा गर्ने आस्थाको केन्द्रका रूपमा रहेको छ । श्रीनगर पार्कलाई पिकनिक तथा हिमदृश्य अवलोवनका लागि उपयुक्त स्थलका रुपमा स्थापित रहेको छ ।
जिल्ला सदरमुकामका यी पर्यटकीयस्थल बाहेक जिल्लाकै रामपुर, माथागढीको कौडेलेक, रिब्दीकोट, रम्भादेवी मन्दिर पनि आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थलका रूपमा लिने गरेको पाइन्छ । यहाँका विभिन्न पर्यटन सम्बद्ध संघ संस्था र स्थानीय सरकारको सक्रियताले पर्यटकलाई एक पटक पाल्पा आउन सहयोग पु¥याएको तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो । उहाँले स्थानीय तह, गेट अप पाल्पा, नाटा च्याप्टर पाल्पा, होमस्टे महासंघ नेपाललगायतले पर्यटनमैत्री क्रियाकलापमा जोड दिएका कारण पर्यटकहरु जिल्ला आउनेको संख्यामा क्रमिक रुपमा वृद्धि भएको बताउनुभयो ।
पर्यटकको संख्यामा वृद्धि भएपछि जिल्लाका होटल व्यवसायहरु चलायमान बनेका छन । पर्यटक आएपछि जिल्लाभित्र रहेका साना तथा ठूला होटलहरुमा चाप बढेको होटल पौवा पाल्पाका प्रबन्धक यदुप्रसाद भटराईले बताउनुभयो । उहाँले दसैँ अगाडि भन्दा दसैँ पछाडी आन्तरिक पर्यटकहरुमा वृद्धि भएका कारण होटल व्यवसाय सन्तोषजनक रुपमा चलेको बताउनुभयो ।
जिल्लामा विदेशी पर्यटकहरु काठमाडौँबाट प्याकेजमा पोखरा, लुम्बिनी हुँदै पाल्पा घुम्न आउने गरेका छन भने देशभित्रबाट विभिन्न सहकारी समूह, विद्यालयका शिक्षक, विद्यार्थीका साथै युवाहरु समूह बनाएर घुम्न आउने गरेका छन् । यहाँ बाह्य पर्यटक पोखरा वा लुम्बिनी जाने हिसावले एक रात मात्र बस्नका लागि पर्यटन आउने गरेका छन । पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारको कमीका कारण पर्यटकलाई जिल्लामा लामो समय टिकाउन सक्ने अवस्था नभएको पर्यटन व्यवसायीहरुले बताएका छन ।