पाल्पा । भोलिदेखि तानसेन टुंडिखेलमा सुरु हुने दोस्रो प्रोफेशनल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता पाल्पा आइटीएफ तेक्वान्दो संघले तानसेन १ गैरागाउँ निवासी स्वर्गीय रिता र अनिल कार्कीको स्मृतिमा गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी हुने करिब ७५ प्रतिशत खेलाडी पाल्पा आइसकेको आयोजकले जनाएको छ । अरु खेलाडी भोली विहानसम्म आइपुग्ने छन् । लुम्विनी प्रदेशका १२ जिल्लाको समूह , तिन विभागीय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरु बिच प्रतिस्प्रर्धा हुने संघका अध्यक्ष तथा प्रतियोगिता मूल आयोजक समितिका संयोजक निरबहादुर सारुले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा महिला तर्फ ४६ केजी देखि ५२ केजीसम्म र पुरुषतर्फ ४९ केजीदेखि ५५ केजी तौलसम्मका खेलाडीहरु बिच एकल स्पाइरिङ्गमा प्रतिस्प्रर्धा हुने बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार विजेता पुरुष र महिलाले ३०/३० हजार नगद, प्रमाण पत्र गोल्ड मेडल प्राप्त गर्ने छन् । यस्तैगरी दोस्रो हुनेले २०/२० हजार नगद, प्रमाण पत्र र रजत पदक प्राप्त गर्नेछन भने तेस्रो हुनेले १०/१० हजार नगद, प्रमाण पत्र र कास्य पदक प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक देव थापा क्षेत्रीले जानकारी दिनुभयो ।
करिब ८ लाख ५० हजार खर्च हुने अनुमान सहित आयोजना गरिएको प्रतियोगिताका लागि जिल्लाका स्थानीय सरकारसंग आर्थिक सहयोग माग गरिएको पूर्व खेलाडी तथा संघका सल्लाहकार देव पचभैयाले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरले गर्ने बताउनुभयो । यसका साथै जिल्लाका संघीय,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसंगै सम्पूर्ण सरोकारबालाहरुलाई खेल अवलोकनका लागि निम्तो गरिएको आयोजकले जनाएको छ । खेल शुक्रबार दिउँसाे १ बजे शुभारम्भ हुने छ ।