
पाल्पा । महिलाहरुको नेतृत्वमा सञ्चालित सहकारी संस्थाले दसैँका अवसरमा दुई करोड बढीको खसीबोका विक्री गरेका छन् । जिल्लाका चारवटा सहकारी संस्थाहरूले दसैँमा मात्र दुई करोड १० लाख रुपैयाँको खसीबोका र माउ विक्री गरेको जनाएका छन् ।
तानसेन १३ को मिलनसार महिला उद्यमी सहकारी संस्था लिमिटेडले दसैँ पर्वको अवधिमा मात्रै करिब एक करोडको खसीबोका र माउ बाख्रा विक्री गरेको सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारीले बताउनुभयो । उहाँले दसैँको मासुका र माउ बाख्रा गरी ९८ लाखको विक्री गरिएको बताउनुभयो । यो सहकारीले खसीबोका संकलन केन्द्र सञ्चालन गरेर पशुपालक कृषकहरुलाई आफ्नो उत्पादन विक्रीको सहज प्रबन्ध मिलाएको अध्यक्ष भण्डारीको भनाइ छ ।
यस्तै रम्भा गाउँपालिका वडा नं. ३ मा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारीले ४८ लाख २७ हजारको खसीबोका विक्री गरेको छ । सोही गाउँपालिकाको वडा नं. २ को पीपलडाँडा सामाजिक उद्यमी महिला सहकारीले ३४ लाख ५६ हजारको खसीबोका विक्री गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख मीनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसुार रम्भामा महिलाहरुको नेतृत्वमा चलिरहेका दुई सहकारीले मात्र दसैँको अवधिमा ८३ लाखको खसीबोका विक्री गरेको कृषि शाखा प्रमुख कार्कीले बताउनुभयो ।
एक महिलाले दसैँमा कम्तीमा खसिबोका विक्री गरेर ५० हजारदेखि एक लाख ८० हजारसम्म आम्दानी गर्न सफल भएको उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापन कृष्णमाया पाडेँमगरले जानकारी दिनुभयो । उहाँले दसैँपछि पनि खसिबोका विक्री गर्ने तयारी कृषकहरुले गरिरहेको बताउनुभयो ।
यस्तै पूर्वखोला गाउँपालिका वडा नं. १ मा रहेको मनकामना महिला उद्यमी सहकारी संस्थाले दुई सय बढी खसीबोका विक्री गरेको छ । सहकारी संस्थामा आबद्ध महिलाहरूले पालेर हुर्काएका खसिबोका दसैँका समयमा विक्री गरेर २९ लाख ६६ हजार आम्दानी गरेको सहकारीका सहायक व्यवस्थापक यानुमाया आलेले बताउनुभयो । उहाँले सबैभन्दा राम्रो गर्ने महिलाले वर्षमा चार लाखसम्मको खसिबोका विक्री गर्ने गरेको जानकारी दिनुभयो ।
पछिल्लो समय गाउँपालिका र प्रदेश सरकारबाट उत्पादनका आधारमा अनुदान प्राप्त गर्न थालेपछि कृषकहरु व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका छन् । जिल्लाको रम्भा गाउँपालिकाबाट खसी र बोकाको मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने गरेको छ । यहाँका सहकारीले विक्री गरेका खसिबोका तानसेन, रामपुर, पोखरा, वालिङ, बुटवल, भैरहवा लैजाने गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले कृषकलाई समूहमा आबद्ध बनाई खोर व्यवस्थापन, नस्ल सुधार, उन्नत जातको घाँस विकास, रोग तथा परजीवी नियन्त्रण कार्यलाई व्यवस्थापनमा सहजीकरण गरेपछि व्यावसायिक बाख्रापालनमा सुधार आएको बताउनुभयो ।