धान काट्न व्यस्त कृषक

तानसेन । पाल्पाका अधिकांश फाँटहरुमा पाकेको धान काटन कृषकहरु व्यस्त रहेका छन् ।

दसैँ पर्व मनाएपछि कृषक धान काट्न व्यस्त भएका हुन । गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न कृषक खेतमा खटिएका छन् । रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोलालगायतका फाँटमा पाकेको धान काट्न कृषक खेतमा व्यस्त भएका हुन ।

दसैँअघि नै पाकेको धान खुरिएर खेतमै झर्ने डरले अधिकांश किसानलाई धान काटेर स्याहार्ने हतारोमा रहेको कृषक कृष्णबहादुर रेग्मीले बताउनुभयो । उहाँका अनुसार दसैँको बेलामा पोकेको धान १० दिन स्याहार्न ढिला हुँदा यहाँका अधिकांश कृषकलाई धान काट्ने र स्याहार्ने हतारो भएको बताउनुभयो । धानका बाला भाँचिएर दाना खेतमै झर्ने चिन्ताले अधिकांश किसानले धान काट्ने हतारो गर्दा ज्यामीको अभाव भएको उहाँले बताउनुभयो ।

धान काट्ने बेलामा चाडपर्व परेपछि अहिले सबैलाई धान काटेर सुकाउन हतार हतार भएको तानसेन–९, अम्लिहानका स्थानीय बासिन्दा छविलाल भटराईले बताउनुभयो । पछिल्लो समय पराल स्याहार्न, धान बोक्न, धान झार्न थ्रेसर, ट्याक्टरलगायतका मेसिनको प्रयोग भए पनि धान काट्न भने अझै मेसिनको प्रयोग हुन नसकेको उहाँको भनाइ छ । धान काट्ने मेसिनको प्रयोग नहुँदा ज्यामीको अभाव हुने गरेको कृषकले बताएका छन ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार ठुला आकारका खेत र टारीखेतमा धान काट्ने मेसिनको प्रयोग गर्न सकिने भए पनि खासै प्रयोग हुन सकेको छैन । ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले यस वर्ष पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ  ।

धान खेती आठ हजार ८ सय २० हेक्टरमा गर्न सकिने भए पनि सिँचाइ अभावलगायतका समस्याका कारणले करिब दुई सय हेक्टरमा धानखेती नभएको उहाँको भनाइ छ । यस वर्ष धानमा विगतका वर्षमा जस्तो रोग नलागेकोले धानको उत्पादनमा वृद्धि हुने कृषि प्राविधिकहरुको भनाइ रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय