पाल्पा । रामपुर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी र प्याजको वेर्ना वितरण गरेको छ । नगरपालिकाले उत्पादन गरेको काउली, ब्रोकाउली, बन्दा र प्याजका वेर्ना वितरण गरेको हो ।
बजार मूल्यको ५० प्रतिशत अनुदानमा एभरेष्ट ग्रीन जातको ब्रोकाउली, सुपर ह्वाईट टप जातको काउली, ग्रीन टप बन्दा, रेड क्रियोल र नासिक–५३ जातको प्याजको वेर्ना कृषकहरुलाई वितरण गरेको नगरपालिकाले जनाएको छ । ब्रो काउली प्रति वेर्ना ३ रुपैयाँ, काउली र वन्दा २ रुपैयाँ ५० पैशामा वितरण गरेको छ । यस्तैगरी प्याजको वेर्ना १ रुपैयाँको १० वटाका दरले वितरण गरिने छ । सोमबार ब्रोकाउली २ हजार ३ सय १ , काउली २ हजार ६ सय ८९ र बन्दा २ हजार ६ सय ५५ गरी जम्मा ७ हजार ६ सय ४५ वटा वेर्ना सहुलियत दरमा कृषकले पाएपछि खुशी भएका छन् ।
बाहिर किन्नुपर्दा लागत धेरै लाग्ने र अहिले नगरपालिकाले अनुदानमा वेर्ना वितरण गर्दा कृषकहरुलाई राहत महसुस भएको रामपुर ४ सदावर्तका व्यावसायिक कृषक विनोद श्रेष्ठले बताउनुभयो । पुलामी कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक महेन्द्र बहादुर पुलामीले आफूले ब्रोकाउली, काउल, बन्दा गरी २ हजार ३ सय वेर्ना ५० प्रतिशत अनुदानमा पाउँदा खेतीमा हौसला मिलेको बताउनु्भयो ।
रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख बालकुमारी थापाले कृषकहरुको राहत र प्रोत्साहनका लागि अनुदानमा वेर्ना वितरण गरिएको बताउनुभयो । उहाँले तरकारी खेतीमा कृषकहरुलाई आकर्षित गरी उत्पादनमा वृद्धि संगै नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनने उद्देश्यले अनुदानको कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गरिएको बताउनुभयो ।
कृषकहरुको माग र आवश्यकताका आधारमा नगरपालिकाले वेर्ना अनुदानमा वितरण गरेको हो । नगरपालिकाले अहिले करिब ४० हजार ब्रोकाउली, काउली र बन्दाको वेर्ना वितरण गर्ने योजना बनाएको छ । कृषकहरुको मागको आधारमा कार्तिक १८ गते सम्म अनुदानमा वेर्ना वितरण गरिने रामपुर नगरपालिका कृषि शाखाका जेटिए युवराज नेपालीले जानकारी दिनुभयो । कृषकले खेती गर्ने क्षेत्रको आधारमा वेर्ना उपलब्ध गराइने छ । नगरपालिकाले प्याजको वेर्ना भने कार्तिक २० गते देखि वितरण गर्ने जनाएको छ ।