
पाल्पा । निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर काम गर्ने गरी योजना बनाएर अगाडि बढेको जनाएको छ । यस वर्ष शिक्षाको गुणस्तर र विद्यार्थी संख्या वृद्धि गरेर स्थानीयस्तरमा रहेका विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्ने कामको सुरु गरिसकिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।
उहाँका अनुसार अहिले विद्यालयस्तरको अनुगमनसंगै तथ्यांक संकलन र विद्यालयको माग संकलन भैरहेको छ । करिब ८० प्रतिशत काम सकिएको छ । अनुमगनको काम छिट्टै सकेर प्राप्त तथ्यांकको विश्लेषण गरी विद्यालय मर्ज र दरबन्दी मिलान सहित दक्ष शिक्षकको पदपूर्ति गरेर अगाडि बढ्ने तयारी रहेको छ ।
भौगोलिक विकटताका कारण विद्यालयहरुमा विद्यार्थीहरुको सहज पहुँच नहुँदा पनि समस्या भएकोले गाउँपालिकाले आवश्यकता अनुसार विग स्कुलको अवधारणा अघि सार्ने अध्यक्ष सारुले बताउनुभयो । यससंगै विद्यालयहरुमा छात्राबासको व्यवस्थापन गर्दा पनि विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने भएकोले यस विषयमा सम्भाव्यता अनुसार काम गरिने उहाँको भनाइ छ ।
यस्तै स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेर काम हुने निस्दी गाउँपालिकाले जनाएको छ ।
गत वर्षदेखि सुरु भएको वडामा गर्भवती महिलाको गर्भ परीक्षणको लागि घुम्ती भिडियो एक्सरे सेवा यस वर्ष प्रत्येक वडामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन सहित आवश्यक प्रविधि र पूर्वाधारको विकास गरिने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो । यस्तै आमनागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि अधिकांश वडामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण कार्य भैसकेको र हुन बाँकी २ वटा वडाहरु सहलकोट र ज्यामिरेमा भवन निर्माणको प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । यसका साथै १५ शैयाको अस्पताल निर्धारित समयमा सम्पन्न गरी आगामी चैत्र भित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयो ।
यस बाहेक सुत्केरी पोषण कार्यक्रम, शून्य घरमा सुत्केरी कार्यक्रमले निरन्तरता पाएका छन् । गाउँपालिकाका अध्यक्ष सारु सहितको जनप्रतिनिधिहरुले आÇना नागरिकलाई सहज सेवा प्रवाहमा ध्यान दिएर निर्माण गरिएको योजना कार्यान्वयनमा कर्मचारीहरु सक्रियाताका साथ लागि परेको प्रमुख प्रशासकीय अधिकृत दयालको भनाइ छ ।
यस बाहेक अहिले गाउँपालिकाबाट वडास्तरमा उपभोक्ता समितिहरुलाई तालिमा दिएको छ । तालिम संगै कर शिक्षा, टोल विकास संस्था दर्ता अभिमुखीकरण कार्यक्रम समेत गरिएको सूचना अधिकारी अर्जुन खनालले जाकारी दिनुभयो । गाउँपालिकाले स्थानीय तह संचालन ऐन २०७४ अनुसार संस्था दर्ता ऐन २०७९ पारित गरी विधिवत रुपमा टोल विकास संस्था दर्ताको थालनी गत वर्ष देखि नै सुरु गरेको जनाएको छ ।
गएको आर्थिक वर्षमा १६ वटा टोल विकास दर्ता गाउँपालिकामा दर्ता भएको सूचना अधिकारी खनालले बताउनुभयो । यस आर्थिक वर्षका लागि गाउँपालिकामा स्थानीय, प्रदेश र संघीय गरी ४ सय २१ वटा योजना तथा कार्यक्रम सञ्चालन हुनेछन् । गाउँपालिकाले योजना तथा कार्यक्रम सञ्चालनका लागि मंसिर पुससम्ममा सम्झौता गर्ने चैत्र र बैशाखमा सम्पन्न गर्ने गरी योजना बनाएको छ । गाउँपालिकाको गौरवको योजना मध्यको एक केम खाम्चा मार्ग अन्तरगत पर्ने ४३ किलोमिटर सडकका लागि आवश्यक प्रक्रिया पूरा गरेर १५ करोडमा निर्माण कम्पनीसंग सम्झौता भइ काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत दयालले जानकारी दिनुभयो ।